मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ सेल्फी रोडस्थित सामुदायिक वनमा सेतो बोराभित्र मृत अवस्थामा फेला परेकी महिलाको शवको चार दिन बितिसक्दा पनि सनाखत हुन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गत साउन २२ गते दिउँसो करिब १ः५० बजे वन क्षेत्रमा रहेको करिब चार फिट गहिरो खाल्टोमा सेतो बोराभित्र बाँधिएको अवस्थामा महिलाको शव फेला परेको थियो। वनमा च्याउ टिप्न गएका स्थानीयले खाल्टोमा बोरा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक किशोर आचार्यको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। घटनाको प्रकृति शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा डग स्क्वाड र एसओसिओसहितको टोलीसमेत घटनास्थलमा परिचालन गरिएको प्रहरीले जनाएको छ।
बोरा खोलेर हेर्दा अन्दाजी ३० देखि ३२ वर्ष उमेरकी महिलाको शव फेला परेको थियो। तर, शव फेला परेको साउन २२ गतेदेखि साउन २५ गतेसम्म पनि मृतकको नाम, थर, वतन वा आफन्तबारे कुनै जानकारी खुल्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले मृतकको पहिचानका लागि सोमबार हुलिया तथा उनले लगाएका कपडासहितका सामग्री सार्वजनिक गरेको छ। प्रहरीका अनुसार मृतकको उचाइ करिब ५ फिट रहेको र तौल अन्दाजी ५० देखि ५५ किलो रहेको छ। उनको वर्ण गहुँगोरो, अनुहार गोलो तथा कपाल लामो र कालो रहेको प्रहरीले जनाएको छ।
मृतकले गुलाबी रंगको कुर्ता लगाएकी थिइन्। कुर्ताको अगाडिको छाती भागमा सेतो फूलबुट्टा रहेको र सेतो सुरुवाल लगाएको अवस्थामा शव फेला परेको थियो। दुवै हातमा हरियो र रातो रंगका एक–एक वटा लहठी (चुरा), दुवै खुट्टाको दोस्रो औंलामा चाँदीजस्तो देखिने एक–एक वटा बिछिया तथा नाकमा फुली लगाएकी थिइन्।
त्यस्तै, घाँटीमा पहेँलो धातुमा रातो मोती जडित माला, बाँया कानमा सुनजस्तो पहेँलो धातुको एउटा मुन्द्रा र कपालमा सेतो रंगको ‘बटरफ्लाई’ डिजाइनको क्लिप लगाएको प्रहरीले जनाएको छ। प्रहरीले मृतकको पहिचानका लागि यी विवरण र शवसँग सम्बन्धित सामग्री सार्वजनिक गरेको हो।
मृतकलाई चिन्न सक्ने व्यक्ति वा आफन्तले यथाशीघ्र जिल्ला प्रहरी कार्यालय मकवानपुर, हेटौंडामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ। शवको आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ। शव वन क्षेत्रमा कसरी पुग्यो, कसले त्यहाँ ल्याएर फालेको हो र घटनाको वास्तविक कारण के हो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
















