मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–५ श्रीपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जना घाइते भएका छन्।
शुक्रबार बिहान करिब ९ः४० बजे मदन भण्डारी लोकमार्गमा हेटौंडाबाट हात्तीसुँडेतर्फ जाँदै गरेको बा.प्र.०३–००३ प ६६४७ नम्बरको मोटरसाइकलले बारीबाट घाँस बोकी घरतर्फ बाटो काट्दै गरेका बकैया–५ श्रीपुरका ४७ वर्षीय निरबहादुर जिम्बालाई ठक्कर दिएको हो।
मोटरसाइकलको ठक्करबाट जिम्बाको छातीमा भित्री चोट लागेको छ। उनको अवस्था मध्यम रहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक बकैया गाउँपालिका–३ का ५२ वर्षीय हरिप्रसाद घिमिरे पनि घाइते भएका छन्। उनको बाँया आँखामुनि र बाँया हातमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
दुवै घाइतेलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो । दुर्घटनामा परेको मोटरसाइकल इलाका प्रहरी कार्यालय गरगरेको नियन्त्रणमा राखिएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय गरगरेबाट करिब दुई किलोमिटर पश्चिममा पर्छ।














