मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा स्कुटर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।
बिहीबार राति करिब ९ बजे काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००५ प ९६९० नम्बरको स्कुटर ब्रेक फेल भई सडकको दाहिनेपट्टि रहेको तारजालीसहितको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा स्कुटर चालक हेटौंडा उपमहानगरपालिका–१० निवासी ३१ वर्षीय अजय साहको दाहिने खुट्टा भाँचिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। स्कुटरमा पछाडि सवार उनकी २३ वर्षीया श्रीमती सबिता सापकोटाको शरीरका विभिन्न भागमा सामान्य चोट लागेको छ।
दुवै घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो। दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सनम मल्लको नेतृत्वमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो।
दुर्घटनामा स्कुटरमा क्षति पुगेको छ भने स्कुटर इलाका प्रहरी कार्यालय भीमफेदीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चालकले मादक पदार्थ सेवन नगरेको र सवारी चालक अनुमति पत्र (लाइसेन्स) समेत रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
दुर्घटनाको थप अनुसन्धान भइरहेको छ।














