मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित मनहरी खोलामा बेपत्ता भएका एक युवक दुई दिनपछि मृत अवस्थामा भेटिएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कैलाश गाउँपालिका–४ सिसैटाका ३२ वर्षीय अशोक प्रजा बुधबार राति करिब ११ बजे कालिटारबाट देउती हुँदै आफ्नै घर फर्किने क्रममा मनहरी खोला तर्ने बेला बेपत्ता भएका थिए।
शुक्रबार बिहान करिब ८ः३५ बजे मनहरी पुलदेखि करिब ३०० मिटर दक्षिणतर्फ खोलाको बीच भागमा पानीको बहाव कम भएको स्थानमा खोलाले बगाएर किनारमा ल्याएको अवस्थामा एक पुरुषको शव देखिएको भन्दै स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली घटनास्थलमा पुगेर सुरक्षा व्यवस्था मिलाएको थियो। त्यसपछि प्रहरी निरीक्षक सूर्यप्रकाश भट्टको नेतृत्वमा एसओसिओ (SOCO) सहितको टोली खटिएर कानुनी प्रक्रिया तथा अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा मृतकका माइला भाइ सुजन प्रजा चेपाङले उक्त शव अशोक प्रजाकै रहेको सनाखत गरेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














