मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ चुनियास्थित त्रिभुवन राजमार्गमा डिब्बा ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति करिब ११ बजे वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ४७०५ नम्बरको मेशिनरी सामान बोकेको ट्रक दुर्घटनामा परेको हो।
पालुङतर्फबाट हेटौंडा आउँदै गरेको नम्बर नखुलेको अर्को ट्रकले साइड च्याप्दै आएपछि साइड दिने क्रममा उक्त ट्रकको पछाडिको चक्का सडकको किनारमा पर्दा बाटो भासिएर ट्रक करिब २०–२५ मिटर तल खसेर बाँसको झ्याङमा अड्किएको थियो।
दुर्घटनामा ट्रक चालक हेटौंडा उपमहानगरपालिका–१४ का ४३ वर्षीय सुब्बा स्याङतान घाइते भएका छन्। उनको ढाड, कम्मरमा भित्री चोट लागेको र बायाँ खुट्टामा समेत चोट लागेको प्रहरीले जनाएको छ।
घाइते स्याङतानलाई राति ११:३० बजे हेटौंडा अस्पताल लगेर उपचार गरिएको थियो। प्रहरीका अनुसार उपचारपछि अवस्था सुधार भई बिहीबार बिहान करिब २:४५ बजे डिस्चार्ज गरिएको छ।
दुर्घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी भैंसेबाट प्रहरी र ट्राफिकसहितको टोली घटनास्थलमा खटिएको थियो। ट्रकमा क्षति पुगेको छ भने चालकले मादक पदार्थ सेवन नगरेको र सवारीका कागजातसमेत ठीक रहेको प्रहरीको भनाइ छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।














