हेटौंडा । यौनजन्य गतिविधि सञ्चालन गरेको भन्दै हेटौंडा ११ थानाभर्याङमा रहेको बिनिस होटलमा प्रहरीले छापा हानेको छ । होटलमा छापा हानेर प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ ।
होटलमा यौनजन्य गतिविधि भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेर ५ जनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार विशेष सूचनाका आधारमा होटलमा गरिएको छापामार कारबाहीका क्रममा ५ जनालाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले पक्राउ परेकाहरुको नामथर भने खुलाएको छैन । नियन्त्रणमा लिइएकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
पछिल्लो समय मकवानपुरका होटलहरुमा यौनजन्य गतिविधि बढेको भन्दै प्रहरी प्रशासनले विशेष निगरानी बढाएको छ । विशेषगरी थानाभर्याङ र बसपार्क क्षेत्रका होटलहरुमा महिला राखेरै यौनजन्य गतिविधि गराउने गरेको सूचना आएको प्रहरीको भनाई छ ।
केही दिन अघि हेटौंडा ११ थानाभर्याङकै यातायात कार्यालय नजिकै रहेको होटलमा मकवानपुरको थाहा नगरपालिकाका एक व्यक्तिको मृत्यु भएको घटनामा समेत प्रहरीले ६ महिनासहित ८ जनालाई पक्रेको थियो । यस्तै केहीदिन अघि हेटौंडाको बसपार्कमा सञ्चालित आरआरएस दोहारीमा कार्यरत एक वेइटर महिलाको शंकाष्पद मृत्यु भएको घटना बाहिरिएको थियो ।
यी दुई घटनापश्चात मकवानपुरमा यौनजन्य गतिविधि बढेको भन्दै सर्वसाधारणले निगरानी र छापा मार्नका लागि प्रहरीलाई सूचना दिँदै आएका छन् ।















