बकैयामा खोल्सी तर्दा बगाएर एक महिलाको मृत्यु, अर्की घाइते

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–४ स्थित चिरुवा खोल्सी तर्ने क्रममा पानीको बहावले बगाउँदा एक महिलाको मृत्यु भएको छ भने अर्की एकजना घाइते भएकी छन्।

सोमबार बिहान करिब ९:३० बजे स्थानीय ४१ वर्षीय तारा भोलन र ५० वर्षीय सुनमाया वाइवा घरबाट दुध डेरीतर्फ जाने क्रममा उक्त खोल्सी तर्दै गर्दा एक्कासी पानीको बहाव बढेपछि दुवै जनालाई बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

उनीहरूलाई करिब २००-३०० मिटर तल पुर्‍याई लड्दा घाइते भएका थिए। घटनापछि दुवै जनालाई तत्काल बकैया आधारभूत अस्पतालमा लगेर सामान्य उपचार गरिएको थियो।

दुवैको हातखुट्टा र ढाडमा चोट लागेको भए पनि अवस्था बोल्न सक्ने रहेको जनाइएको थियो। उपचारमा आफन्तहरू संलग्न रहेका थिए र उपचारपछि उनीहरू घर फर्किएका थिए।

तर स्वास्थ्यमा समस्या देखिएपछि भोलनलाई थप उपचारका लागि चुरेहिलस्थित सीएमसी अस्पताल लगिएकोमा उपचारकै क्रममा मंगलबार दिउँसो २:५७ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। अर्की घाइते सुनमाया वाइवा भने उपचारपछि घर फर्किएकी छन्।

घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी चौकी गरगरेबाट प्रहरी टोली खटिएको थियो। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

प्रहरीले वर्षायाममा खोलानाला तर्दा सतर्कता अपनाउन, पानीको बहावको अवस्था बुझेर मात्र पार गर्न र अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.