हेटौंडा । मनहरी गाउँपालिका–३ सुगौरा स्थित भित्री सडकखण्डमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक युवती घाइते भएकी छन्।
बुधबार दिउँसो करिब २:३० बजे सुगौराबाट बस्तिपुरतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०४३ प ९४०१ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको बा.९२ प ७३० नम्बरको स्कुटरलाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा स्कुटरको पछाडि सवार सोही स्थान बस्ने २३ वर्षीया अनिता लो घाइते भएकी छन्। उनको दाहिने खुट्टामा चोट लागेको छ र अवस्था मध्यम रहेको छ।
घाइतेलाई स्कुटर चालक उनका बुवा ४९ वर्षीय प्रेमबहादुर लो र मोटरसाइकल चालक मनहरी–२ च्यापल बस्ने ३५ वर्षीय कुमार लामाले उपचारका लागि मकवानपुर सहकारी अस्पताल पुर्याएका थिए।
प्रहरीका अनुसार दुवै सवारी चालक घटनास्थलमै रहेका छन् भने दुवै चालकले मदिरा सेवन नगरेको र आवश्यक कागजपत्र समेत ठीक रहेको छ। दुर्घटनामा स्कुटरमा सामान्य क्षति पुगेको छ।
घटनाबारे इलाका प्रहरी कार्यालय नेवारपानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














