भीमफेदीमा भारतीय कार दुर्घटना, एक बालिकासहित आठ जना घाइते

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक बालिकासहित आठ जना भारतीय नागरिक घाइते भएका छन्।

बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार साँझ करिब ५ः३० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको BR06CZ 2239 नम्बरको भारतीय कारको ब्रेक फेल भई अनियन्त्रित भएर सडकको बाँया किनारको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सनम मल्लको कमाण्डमा ट्राफिक प्रहरीसहित छ जनाको टोली घटनास्थल पुगेको थियो।

दुर्घटनामा कार चालक भारतको बिहार राज्य, पटना भुतनाथ नन्दलाल चपरा सितामढी निवासी ४४ वर्षीय राम यतन शर्मा घाइते भएका छन्। उनको ढाड र छातीमा चोट लागेको छ र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

यस्तै, ४८ वर्षीय श्रीकान्त कुमारको बायाँ खुट्टामा, २० वर्षीय आकाश कुमारको बायाँ खुट्टामा, ३३ वर्षीय राज अभिनवको कम्मरमा तथा ४० वर्षीया गुडिया देवीको कम्मर र दाहिने हातमा चोट लागेको छ। उनीहरूको अवस्था मध्यम रहेको छ।

दुर्घटनामा २२ वर्षीया दिपा कुमारीको दाहिने हातमा सामान्य चोट लागेको छ भने २४ वर्षीया सिता कुमारीको बायाँ हात र बायाँ खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। त्यसैगरी सिता कुमारीकी करिब डेढ वर्षीया छोरी तन्नीको निधारमा सामान्य चोट लागेको छ।

घाइते सबैलाई प्रारम्भिक उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदी लगिएको थियो। त्यसपछि राति करिब ८ः४० बजे थप उपचारका लागि हेटौंडा अस्पताल रेफर गरिएको बताइएको छ। पछि परिवारका सदस्यहरूले भारतमै उपचार गराउने निर्णय गरेपछि सोमबार दिउँसो करिब १२ः३० बजे सबै घाइते भारततर्फ प्रस्थान गरेका छन्।

दुर्घटनामा कारमा क्षति पुगेको छ। चालकले मदिरा सेवन नगरेको प्रारम्भिक परीक्षणबाट पुष्टि भएको प्रहरीको भनाइ छ। दुर्घटनाका कारण सडक अवरुद्ध नभएको र दुर्घटनाग्रस्त कारलाई इलाका प्रहरी कार्यालय भीमफेदीमा ल्याएर राखिएको प्रहरीले जनाएको छ। दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब दुई किलोमिटर उत्तरतर्फ रहेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.