हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका–१ चिसापानीमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। शनिबार राति करिब १०ः४५ बजे भएको आगलागीबाट करिब रु. ४ लाख ५० हजार बराबरको धनमाल क्षति भएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रहरीका अनुसार स्थानीय भीमबहादुर पहरीको बाँसको टाँटीले बनेको खरले छाएको एकतले घरमा बंगुरका लागि कुडो पकाउने क्रममा अचानक आगलागी भएको हो ।
स्थानीयवासीको सहयोगमा करिब एक घण्टापछि राति ११ः४५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। आगलागीमा कुनै मानवीय वा चौपायाको क्षति भने नभएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी आइतबार दिउँसो करिब ३ः३० बजे मात्रै प्रहरीलाई प्राप्त भएपछि प्रहरी चौकी शिवराजगाउँबाट प्रहरी सहायक निरीक्षक सञ्जय झाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरेको थियो।
आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै अन्नपात, लत्ताकपडा, भाँडावर्तन, फर्निचरलगायतका सामान जलेर करिब ४ लाख ५० हजार बराबरको क्षति भएको छ। घटनास्थल प्रहरी चौकी शिवराजगाउँबाट करिब १७ किलोमिटर उत्तरतर्फ रहेको छ।















