कैलाश गाउँपालिकाको ५५ करोड ८४ लाखको बजेट पारित, स्वास्थ्य–शिक्षा र पूर्वाधारमा जोड

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५५ करोड ८४ लाख ६९ हजार रुपैयाँको बजेट तथा नीति–कार्यक्रम पारित गरेको छ। १८ औँ गाउँसभामा अध्यक्ष लोकबहादुर मुक्तानले नीति तथा कार्यक्रम र उपाध्यक्ष बालकुमार मल्लले बजेट प्रस्तुत गरेका हुन्।

नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ। ‘एक घर एक धारा’, पूर्ण सरसफाइ उन्मुख पालिका, रैथाने बाली संरक्षण, कृषि आधुनिकीकरण तथा ‘जिरो होम डेलिभरी’ अभियानलाई निरन्तरता दिने उल्लेख गरिएको छ। साथै वीपी स्मृति कैलाश आधारभूत अस्पतालमा चिकित्सक, औषधि र उपकरण व्यवस्थापन गरी आकस्मिक स्वास्थ्य सेवा प्रभावकारी बनाइने जनाइएको छ।

कुल बजेटमध्ये सामाजिक विकासतर्फ २४ करोड ८९ लाख रुपैयाँ, पूर्वाधार विकासतर्फ १५ करोड ७० लाख रुपैयाँ तथा प्रशासनिक खर्चतर्फ ११ करोड ८६ लाख रुपैयाँ विनियोजन गरिएको छ। बजेटका लागि संघीय सरकारबाट ४२ करोड ७६ लाख रुपैयाँ र प्रदेश सरकारबाट ९ करोड ४७ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

गाउँसभाले आर्थिक विधेयक, विनियोजन विधेयक, बजेट तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ। यस अवसरमा कक्षा १२ उत्तीर्ण गरी २० वर्षपछि विवाह गरेका १० जना चेलीलाई नगदसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.