मनहरी गाउँपालिकाद्वारा ९८ करोड ५७ लाख रुपैयाँको बजेट सार्वजनिक

मकवानपुर । मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ९८ करोड ५७ लाख ६३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १९ औँ अधिवेशनको दोस्रो बैठकमा उपाध्यक्ष सीता पुलामीमगरले बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताइन्।

प्रस्तुत बजेट चालु आर्थिक वर्षको तुलनामा करिब १० करोड ८५ लाख रुपैयाँ बढी रहेको छ। कुल बजेटमध्ये पूर्वाधार विकास क्षेत्रमा सबैभन्दा बढी ३४ करोड ९१ लाख ६६ हजार रुपैयाँ विनियोजन गरिएको छ भने सामाजिक विकासतर्फ २८ करोड १८ लाख ८ हजार रुपैयाँ छुट्याइएको छ। त्यसैगरी, प्रशासनिक तथा सञ्चालन खर्चका लागि १४ करोड ६६ लाख ७० हजार रुपैयाँ र सुशासन तथा संस्थागत विकासका लागि १३ करोड ८५ लाख २ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँपालिकाले आगामी वर्ष दहत्तर–बहत्तर (नदीजन्य पदार्थ) बिक्रीबाट मात्रै २६ करोड ७४ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। संघीय सरकारबाट विभिन्न शीर्षकमा ३६ करोड ८१ लाख रुपैयाँ तथा प्रदेश सरकारबाट ६ करोड २६ लाख ४१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

क्षेत्रगत रूपमा शिक्षा क्षेत्रमा सबैभन्दा बढी २१ करोड १९ लाख रुपैयाँ विनियोजन गरिएको छ। यस अन्तर्गत बालविकास शिक्षक, विद्यालय कर्मचारी व्यवस्थापन, विद्यालय बस खरिद तथा युवा–खेलकुद कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। स्वास्थ्य क्षेत्रमा ४ करोड ८२ लाख ५० हजार रुपैयाँ बजेट छुट्याइएको छ, जसबाट विपन्न क्यान्सर, मिर्गौला तथा डायलाइसिसका बिरामीलाई सहयोग, स्वास्थ्य बीमा कार्यक्रम र शववाहन खरिदजस्ता कार्यक्रम सञ्चालन गरिनेछ।

कृषि तथा पशुपन्छी विकासका लागि क्रमशः १ करोड ८१ लाख रुपैयाँ र २ करोड ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ। कृषि औजार वितरण, उत्पादनमा आधारित अनुदान, बाली बीमा तथा पशुपालन प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ।

पूर्वाधारतर्फ मनहरी–८ र ९ जोड्ने सडक, लोथर–पाङ्थली सडक स्तरोन्नति, वडा कार्यालय भवन निर्माण तथा गाउँपालिकाको प्रशासकीय भवन सम्पन्न गर्ने योजना अघि सारिएको छ। बजेटमाथि छलफल गरी पारित गर्न गाउँसभाको अर्को बैठक असार १३ गतेका लागि बोलाइएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.