हेटौँडा । बागमती प्रदेश सभामा प्रतिपक्ष दलका सांसदहरुले सरकारसँग विगतका सहमति कार्यान्वयन र हिउँदे अधिवेशनबारे स्पष्ट धारणा माग गरेका छन् ।
प्रदेश सभाको आज बसेको दोस्रो कार्यकालको छैठौं अधिवेशनको पहिलो बैठकमा नेकपा माओवादी केन्द्रसहित प्रतिपक्ष दलका सांसदहरुले चालू आर्थिक वर्षको बजेट कार्यक्रममा सरकारले गरेको सहमति कार्यान्वयन नहुँदै अधिवेशन अन्त्य गरेको भन्दै प्रतिपक्ष दल असन्तुष्ट जनाएका हुन् ।
सो विषयमा प्रतिपक्ष दलहरूले सरकारको जवाफ सन्तोषजनक नभएसम्म बैठक चल्न नदिने प्रतिपक्ष दलको अडान रहेको छ । प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले सोमबार प्रदेशसभामा पेस गर्नका लागि तयार गरेका विषयहरू कार्यसूचीबाट हटाएर बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित गरे ।
पाठकले बैठकमा रुलिङ गर्दै कार्य सूचीमा समावेश गरिएका विषयहरू हटाइएको घोषणा गरे । सोमबारको बैठकमा प्रदेश चलचित्र विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस हुने र संसदीय समितिबाट पारित भई तयार भएका ४ विधेयकका प्रतिवेदन पेस हुने कार्यसूची रहेको थियो ।
साथै सोमबारको बैठकमा नेपाली काँग्रसे, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, नेमकीपा, हाम्रो नेपाली पार्टीको तर्फबाट शुभकामना दिएका थिए । बिहान ११ बजेको लागि आह्वान गरिएको प्रदेश सभा बैठक ३ घण्टा ढिला गरी १ बजेकोपछि मात्रै बसेको थियो ।

















