मकवानपुर प्रहरीद्वारा लागूऔषधसहित ६ जना पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरी टोलीले हेटौँडा–१३ बाट शनिबार दिउँसो २ बजेको समयमा २५ वर्षीय अजित दोङ र २१ वर्षीय विनय लामालाई पक्राउ गरेको हो । उनीहरुलाई २५ क्याप्सुल लागूऔषध ट्रामाडोलसहित पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, उनीहरुसँग सोधपुछ गर्ने क्रममा हेटौँडा–२, मानसचोकस्थित नेपाली चुलो होटलकी सञ्चालकसँग लागूऔषध ट्रामाडोल खरिद गरेर ल्याएको भनी बताएपछि प्रहरीले होटल सञ्चालक मकवानपुरको बागमती गाउँपालिका–४ की सरिता माझीसहित अन्य दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बागमती गाउँपालिका–४ कै २२ वर्षीय उदेश राई र हेटौँडा–९ का २९ वर्षीय मनिष तिमल्सिना रहेका छन्। पक्राउ परेका उनीहरुको साथबाट लागूऔषध ट्रामाडोल २ सय ६२ क्याप्सुल र ३० ग्राम लागूऔषध गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका पाँचै जनालाई मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई हिरासतमै राखेर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

यस्तै प्रहरीले शुक्रबार साँझ हेटौँडा–१०, राप्तिरोडस्थित सडक डिभिजन कार्यालय अगाडिबाट लागूऔषध ट्रामाडोल २० ट्याब्लेटसहित हेटौँडा–११ का विनय लामालाई पक्राउ गरेको जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना १३ प २१३६ नम्वरको मोटरसाईकलमा सवार लामालाई रोकेर सुरक्षाजाँच गर्ने क्रममा लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरिएको हो । पक्राउ परेका लामालाई पनि ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न मकवानपुर जिल्ला अदालत अनुमति दिएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.