हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–३ हात्तीसुँडेमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक जना घाइते भएका छन्।
बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार मंगलबार दिउँसो करिब ३ः२० बजे मदन भण्डारी लोकमार्गअन्तर्गत हात्तीसुँडेबाट फापरबारीतर्फ जाँदै गरेको २२० सीसीको पल्सर मोटरसाइकलले बाटोमा हिँडिरहेका स्थानीय ५५ वर्षीय शनि थिङलाई ठक्कर दिएको थियो।
ठक्कर दिएपछि मोटरसाइकल चालक फरार भएका थिए। दुर्घटनामा थिङको टाउको, अनुहार, दाहिने हात र खुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। घाइतेलाई श्रीमतीको साथमा उपचारका लागि हेटौंडातर्फ पठाइएको थियो।
घटनापछि फरार मोटरसाइकल तथा चालकको खोजीमा खटिएको प्रहरी टोलीले साँझ करिब ७ बजे बकैया–३ चिसापानी जंगलबाट ठक्कर दिने बा.२८ प २१०० नम्बरको मोटरसाइकल फेला पारी नियन्त्रणमा लिएको छ।
प्रहरीले मोटरसाइकललाई प्रहरी चौकी हात्तीसुँडेमा राखेको छ भने चालकलाई समेत नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।














