हेटौंडामा मोटरसाइकल-स्कुटर ठोक्किँदा तीनजना घाइते

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–५ सूर्यचोकमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये १३ वर्षीया बालिकाको हातमा फ्याक्चर भएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रहरीका अनुसार सोमबार साँझ करिब ५ः४० बजे सूर्यचोकस्थित भित्री सडकखण्डमा शान्तिनगरबाट कर्रातर्फ जाँदै गरेको बा.५८ प १६७६ नम्बरको मोटरसाइकलले घरको कम्पाउन्डबाट सडकमा निस्किँदै गरेको प्रदेश ०३–००६ प ६५१४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका–४ का करिब ३९ वर्षीय महेश लामा घाइते भएका छन् । उनको बायाँ खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

त्यस्तै, स्कुटर चालक मकवानपुरगढी गाउँपालिका–७ सुकौराका तथा हाल हेटौंडा उपमहानगरपालिका–४ मा डेरा गरी बस्ने करिब २४ वर्षीय आत्माराम बम्जन घाइते भएका छन् । उनको अनुहार, हात र बायाँ खुट्टामा सामान्य चोट लागेको छ ।

स्कुटरको पछाडि सवार बम्जनकी १३ वर्षीया छोरी मुनिका तामाङको भने बायाँ हातमा फ्याक्चर भएको छ । उनको ढाड र बायाँ खुट्टामा समेत चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि घाइते तीनै जनालाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो । दुर्घटनामा दुवै सवारीसाधनमा सामान्य क्षति पुगेको छ ।

प्रहरीका अनुसार दुवै सवारीसाधनका चालकसँग सवारी चालक अनुमतिपत्र नभएको पाइएको छ । उनीहरूले मादक पदार्थ सेवन नगरेको समेत प्रारम्भिक परीक्षणबाट खुलेको छ ।

दुवै सवारीसाधनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वडा प्रहरी कार्यालय हेटौंडाको नियन्त्रणमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.