मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

हेटौंडा । आफ्नै पार्टीभित्रको आन्तरिक किचलोका बीच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। २० साउनमा बहादुरसिंह लामा नेतृत्वको सरकार विस्थापित गर्दै मुख्यमन्त्री नियुक्त भएका बानियाँले मंगलबार प्रदेशसभाको बैठकमा विश्वासको मत लिएका हुन्।

कांग्रेस र एमालेका सांसदहरूले विश्वासको मतको पक्षमा मतदान गरेका थिए। बानियाँको पक्षमा ६३ जना सांसदले मतदान गरे भने विपक्षमा २२ मत पर्‍यो र ७ जना सांसद तटस्थ रहे। ११० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि कम्तीमा ५६ मत आवश्यक थियो। प्रदेशसभामा कांग्रेसका ३७ र एमालेका २७ सांसद छन्। कांग्रेसका एक सांसद विदेशमा रहेका कारण बैठकमा सहभागी भएनन्।

उक्त बैठकमा ९२ सांसदको उपस्थिति थियो। कांग्रेस र एमाले संसदीय दलले विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका थिए। मुख्यमन्त्री बानियाँको विपक्षमा माओवादी केन्द्र, राप्रपा, नेकपा (एस), नेमकिपा र हाम्रो नेपाली पार्टीका सांसदहरूले मतदान गरे।

पार्टीभित्रको विवादका कारण आफ्नै दल कांग्रेसका १४ सांसदले सुरुमा विश्वासको मतको विपक्षमा मतदान गर्ने बताएका थिए। तर, केन्द्रीय नेतृत्वको दबाबपछि उनीहरू बैठक सुरु हुने बेलामा प्रदेशसभाको नयाँ भवनमा प्रवेश गरे र अन्ततः बानियाँको पक्षमा मतदान गरे। यही कारण दिउँसो ४ बजेका लागि तय भएको बैठक करिब एक घण्टा ढिलो गरी सुरु भएको थियो।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.