शुक्रबार हेटौंडा एकेडेमीको वार्षिकोत्सव

हेटौंडा हेटौंडा ११ स्मारक रोडमा रहेको हेटौंडा एकेडेमीले यही २३ गते शुक्रबार वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने भएको छ । विद्यालयमै विशेष कार्यक्रमकाबीच २६ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस मनाउन लागिएको विद्यालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । बृहत सांस्कृतिक प्रदर्शनी, विज्ञान तथा प्रविधि प्रदर्शनी, हस्तकला, चित्रकला, पुस्तक मेला र खेलकुदका सामानहरुको प्रदर्शनी एवम् खाना महोत्सवसहित वार्षिकोत्सव एवम् अभिभावक दिवस मनाउन लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गीले जानकारी दिए ।

बागमती विश्वविद्यालयका अध्यक्ष प्रा.डा.चन्द्रमणी पौडेल कार्यक्रमको प्रमुख अतिथिका रुपमा आउनेछन् । सिद्धार्थ वनस्थली स्कुलमा लामो समय अध्यापन गरी आधुनिक शिक्षा प्रणाली सुधारका लागि काठमाडौंको एलआरआइ स्थापना गरेका संस्थापक प्राचार्य शिवराज पन्त, चितवन मेडिकल कलेज भरतपुरका अध्यक्ष एवम् प्रवन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपाने लगायत विशिष्ट अतिथिका रुपमा सहभागी हुनेछन् । विद्यालयका परिकल्पनाकार एवम् संस्थापक अध्यक्ष समेत रहेका बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेललगायतको कार्यक्रममा सहभागिता रहने आयोजकले जनाएको छ ।

‘धर्म, संस्कृति, कला, साहित्य र प्रविधिलाई एकीकृत गरी विश्व परिवेश सुहाउँदो शिक्षा दिँदै आइरहेका छौं’, अध्यक्ष सुमार्गीले भने, ‘मंसिरदेखि अखिल नेपाल फुटबल संघ (एन्फा) संग आबद्ध भई एकेडेमी समेत सञ्चालन गरिरहेका छौं । योसँगै राष्ट्रिय सेवा दल र नेपाल स्काउट लगायतका कार्यक्रम पनि सञ्चालन गर्दै आएका छौं ।’ शिक्षा संगसंगै खेलकुद भन्ने नारासहित क्रिकेट र फुटबलको प्रशिक्षण कक्षा सञ्चालन गरिरहेको उनले जानकारी दिए । हेटौंडा एकेडेमीमा हाल ७०२ जना विद्यार्थी रहेका छन् ।

पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका सदस्य अंकिता सुमार्गी, विद्यालयका प्रमुख अधिकृत रमेश रिमाल, प्रिन्सिपल धिरज क्षेत्री बोगटी, मावि इन्चार्ज अर्चना उप्रेती, परीक्षा विभाग प्रमुख समिर ढकाल लगायतको उपस्थिती थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.