मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा चौथो मिस्टर मकवानपुर–२०८२ हुँदैछ । मकवानपुर शारीरिक सुगठन तथा फिटनेस संघ मकवानपुरले मिस्टर मकवानपुर शारीरिक सुगठन प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
आयोजक संघले बुधबार पत्रकार सम्मेलनमार्फत् प्रतियोगिताबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजेश भेटवालले प्रतियोगिता हेटौंडा–४ स्थित ओम्याक्स सिनेघरमा यही वैशाख २० गते हुने बताए ।
उक्त प्र्रतियोगिताको विजेता र उपविजेता समूहले क्रमशः १ लाख ३५ हजार ५५५ रुपैयाँ र ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछ भने तेस्रो हुने समूहले ४१ हजार १११ रुपैयाँ नगद प्राप्त गर्नेछन् ।
यस्तै, संघले मिस्टर मकवानपुरसँगै बेष्ट फिजिक्स वुमन्सय च्याम्पियनसीप, दोस्रो मिस्टर मकवानपुर भेट्रान्स र प्रथम मेन्स फिजिक्स च्याम्पियनसीप मकवानपुरसमेत आयोजना गरिने भएको छ ।
आयोजक संघका अध्यक्ष भेटवालले प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७५ केजी तौल समूहका खेलाडीले सहभागिता जनाउनेछन् । बेष्ट फिजिक्स वुमन्सय च्याम्पियनसीपको विजेताले ३३ हजार ३३३ रुपैयाँ, दोस्रो हुनेले २६ हजार ६६६ रुपैयाँ र तृतीय हुनेले १३ हजार ३३३ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
दोस्रो मिस्टर भेट्रान्सतर्फ प्रथम हुनेले ३३ हजार ३३३, द्वितीय हुनेले २६ हजार ६६६ रुपैयाँ र तृतीय हुनेले १३ हजार ३३३ रुपैयाँ प्राप्त गर्नेछन् । मेन्स फिजिक्स च्याम्पियनसीपको विजेताले ३३ हजार ३३३ रुपैयाँ, दोस्रो हुनेले २६ हजार ६६६ रुपैयाँ र तृतीय हुनेले १३ हजार ३३३ रुपैयाँ प्राप्त गर्ने उनले बताए ।
प्रतियोगितामा करिब २० लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगिता संयोजक सुनिल लोप्चनले बताए ।
प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिका, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट र विभिन्न स्थानीय तहबाट सहयोग प्राप्त हुने समेत आयोजकले जनाएको छ ।

















