मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले अटिजम भएका बालबालिकाको सहजताका लागि विद्यालय सञ्चालन गर्ने भएको छ । विश्व अटिजम जनचेतना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले हेटांैडा–११ थानाभ¥याङमा विद्यालय सञ्चालनका लागि बजेट व्यवस्थापन गरिने जानकारी दिएकी हुन् ।
उपमहानगरले महिलाका लागि भवन निर्माणको काम गरिरहेको स्थानसँगै विद्यालय सञ्चालनको तयारी थालिएको उनले बताइन् । पछिल्लो समय अटिजम भएका बालबालिकाका अभिभावकले निजी स्कुलले चर्को शुल्क असुलेको गुनासो गरेपछि अब सबै खालका परिवारलाई लक्षित गर्दै उपमहानगरले विद्यालय सञ्चालन गर्न लागेको बताइन् ।
जनचेतना दिवसको सन्दर्भमा हेटौंडा ४ मा रहेको सेन्टर फर अटिजममा भएका बालबालिकाको अभिभावकसँगको कार्यक्रममा मेयर लामाले नजिकबाट यस्को विषयमा जानकारी नलिँदा सबैलाई उस्तै सोच्ने गरेकाले अहिले समस्या देखिएको बताइन् । उनले अब सुधार गरेर जाने पक्षमा रहेको बताइन् । अटिजम र शारीरिक अशक्त बालबालिकालाई एकै ठाउँमा राख्दा अहिले समस्या देखिएको बताइन् । ‘नगर क्षेत्रमा रहेका सबै खालका बालबालिकालाई शिक्षाबाट टाढा नराख्ने सोचसहित काम गरियो अहिले फरक खालको बिषय उपमहानगरसम्म आएको छ यसलाई सुधार्ने छौं’, उनले भनिन् ।
अहिले सेन्टर फर अटिजममा उपमहानगरपालिका क्षेत्रका ३२ जना बालबालिका अध्ययन गर्दै आएका छन् । सेन्टर फर अटिजमका उपाध्यक्ष शेखर थपलियाले अभिभावकले बालबालिकाको अवस्था नबुझ्दा समस्या भैरहेको बताए । सेन्टर फर अटिजमका अध्यक्ष हरिकृष्ण मैनालीको अध्यक्षतामा भएको जनचेतना दिवसको कार्यक्रममा सचिव अस्मिता कालिका, कोषाध्यक्ष निश्ला श्रेष्ठ, सदस्य उमा पौडेल, थेरापिष्ट डाक्टर श्रमिका श्रेष्ठलगायतको आतिथ्यता थियो ।

















