हेटौंडा । राजावादी समूहले गरेको आन्दोलनका क्रममा पत्रकार सुरेश रजक मारिएको र सञ्चार माध्यममाथि आक्रमण भएको विरोधमा नेपाल पत्रकार महासङ्घ मकवानपुरले हेटौंडाको सिमाचोकमा विरोध सभा गरेको छ । हिजो तीनकुनेमा भएको आन्दोलनमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको ज्यान गएको थियो । साथै केही सञ्चारगृहमा तोडफोडसमेत भएको थियो ।
आज पत्रकार महासङ्घको स्थापना दिवससमेत हो । तर महासङ्घले केन्द्रिय निर्देशन अनुसार पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर विरोध प्रदर्शन गरेको हो । हेटौंडाको पल्पसासभागृहबाट सुरु भएको पत्रकारहरुको प्रदर्शन मकवानपुर उद्योग बाणिज्यसंघ, पिपलबोट, बुद्धचोक हुँदै सिमाचोकमा गएर सभामा परिणत भएको थियो ।
पत्रकारमाथिको हिंसात्मक आक्रमणको भत्र्सना, पेशागत सुरक्षाको ग्यारेन्टी, सुरेश रजकका हत्यारालाई कारबाही तथा प्रेस स्वतन्त्रताको ग्यारेन्टीको माग गरिएको छ । पत्रकार महासङ्घको अगुवाइमा हिजो ज्यान गुमाएका पत्रकार रजकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । महासङ्घका अध्यक्ष बालकृष्ण अधिकारीले मृतक रजकलाई न्याय दिलाउन महासङ्घ निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
विरोध प्रदर्शनमा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाई, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी, प्रेस चौतारी मकवानपुरका अध्यक्ष सरिता दाहाल, गैरसरकारी संस्था महासंघका आरती पाठक लगायतकाले पत्रकार हत्याको विरोध गर्दै दोसीलाई कार्बाहीको माग गरेका छन् ।

















