मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका ४ छतिवनका विक्रम कार्कीले मकवानपुरकै पहिलो अनि एक मात्र सगरमाथा आरोहीको परिचय बनाएका छन् । कार्कीले सन् २०२२ मे महिनाको २१ तारिखमा सगरमाथाको सफल आरोहण गरेका हुन् ।
उनी पहिलो प्रयासमा भने सगरमाथा चढ्न असफल भएका थिए । २०२१ मा उनले पहिलो पटक आरोहण गर्ने प्रयास गरेका थिए । काठमाण्डौमा टुरिजम कलेजमा अध्ययन गरेपछि उनले हिमाल सम्बन्धी जाकनारी पाएका थिए । २०१६ सालदेखि हिमालयन सेक्टरको तालिम लिएर उनले त्यही सालदेखि काम सुरु गरेका थिए ।
अहिले उनको नाममा ‘एपेक्स हिमालयन ट्रेक्स एण्ड एक्सिप्रियन्स’ ट्रेकिङ कम्पनी छ, जसबाट ट्राभल, ट्रेक र एक्सपिडिसन आयोजना गरिन्छ । उनी यो अवसर आफ्नै कडा परिश्रम र प्रयासबाट पाएको बताउँछन् । सगरमाथा आरोहण गर्ने क्रममा उनले गुल्मीका आफ्ना अति नै मिल्ने दौंतरी दीपक महतलाई समेत गुमाएका थिए ।
आरोहणको क्रममा महतलाई मस्तिष्कमा रक्तश्राव भएपछि उनको आधा बाटोमै मृत्यु भएको थियो । कार्कीको लागि पनि यो यात्रा सहज भने थिएन । सगरमाथा चढ्दा अक्सिजन सकिएको कारण उनी ४५ मिनेटसम्म अक्सिजन विनै हिँडेका थिए । तर क्याम्फोरबाट अक्सिजन पाएपछि कार्कीको ज्यान जोगिएको थियो । कार्की भन्छन्, ‘कतिलाई सगरमाथा चढ्छु भन्ने थाहा नै थिएन । ट्रेकिङ गर्न गएको थिएँ । पछि सगरमाथा चढिसकेपछि सबैले बधाई दिनुभयो ।’
उनी अहिले हिमाली क्षेत्रमा १४ वर्षको अनुभव भएका एक प्रशिक्षित विशेषज्ञ समेत हुन् । सगरमाथा चढ्दा सबैभन्दा ठूलो समस्या भनेको आर्थिक अवस्था रहेको कार्कीको भनाई छ । कोभिडको समयमा आर्थिक समस्या बढेको थियो तर उनले व्यवस्थापन गरेर यो चुनौती पार गरेका हुन् । ‘सगरमाथा चढ्नका लागि तालिम अनिवार्य छ, त्यसैले हामीले राम्रो तालिम लिएर जोखिम कम गर्नुपर्छ ।
साथै सामग्री जुटाउने क्रममा समस्या आउन सक्छ, त्यस्तो अवस्थामा सबै कुराको प्रबन्ध मिलाउन आवश्यक छ’, उनले भने । कार्कीका अनुसार हिमालको मौसम एकदमै चिसो हुने भएकोले सबै सामग्री जुटाउन सकियो भने सहज भने हुनेछ । सबैभन्दा ठूलो समस्या वातावरणकै हुने उनले सुनाए ।
पछि सबै विवरण बुझ्दा अहिलेसम्म जिल्लाबाट कोही पनि सगरमाथा चढ्न नगएको पाइएको उनले बताए । ‘अहिले सम्मलाई जिल्लाको म नै पहिलो र एक मात्र सगरमाथा आरोही भएको रहेछु, आफूलाई ‘लक्की’ महसुस गरिरहेको छु’, कार्की भन्छन् । यो सफलता रेकर्डको लागि भन्दा आफन्त र आफूलाई चुनौतीको रूपमा लिएको उनले सुनाए ।
कार्कीलाई मकवानपुरका विभिन्न संघसंस्थाले सम्मान तथा पुरस्कृत गरिरहेको छ । हालै मात्र उनलाई हेटौंैडाको पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरको १५ औं वार्षिकोत्सवको अवसरमा नगद १० हजार रुपैयाँसहित सामुदायिक सम्मान प्रदान गरेको थिो । यसअघि उनलाई जेसीआई बकैया र मकवानपुर जिल्ला फुटबल संघले समेत सम्मान गरिसकेको छ ।


















