मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय हेटौंडाबाट घुससहित २ जनालाई पक्राउ छ ।
पक्राउ पर्नेमा कार्यालयमा कार्यरत एक अधिकृत र एकजना बिचौलिया रहेका छन् । आयोगको हेटौंडा कार्यालयका सूचना अधिकारी बिमोचन घिमिरेले सवारी सरुवा सहमतिको काम गरिदिने नाममा सेवाग्राहीसँग घुस माग गरेको उजुरीपछि खटिएको टोलीले दुई जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।
सूचना अधिकारी घिमिरेले बिचौलियाको भूमिका निर्वाह गर्ने लेखापढी व्यवसायी खगेन्द्र पौडेललाई ११ हजार ५ सय रुपैयाँ लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका पौडेलको बयानका आधारमा घटनामा संलग्न रहेको पाइएपछि अख्तियारले छैटौं तहका अधिकृत अमृत भेटुवाललाई पनि नियन्त्रणमा लिएको हो । दुवैलाई यातायात व्यवस्था कार्यालय हेटौंडाको परिसरबाटै नियन्त्रणमा लिइएको हो ।
आयोगको टोलीले घटनास्थलबाट ३ थान मोबाइल सेट समेत बरामद गरेको जनाएको छ । पक्राउ परेका भेटुवाल र पौडेललाई थप प्रमाण संकलन तथा अनुसन्धानका लागि अख्तियारको केन्द्रीय कार्यालय टंगाल काठमाडौं पठाइने सूचना अधिकारी घिमिरेले जानकारी दिए ।
यातायात कार्यालय हेटौंडामा काम गर्नका लागि घुस दिनुपर्ने गुनासो सर्वसाधारणको रहँदै आएको छ ।
















