मकवानपुर । मकवानपुरको विभिन्न स्थानीय तहमा किसानले पालेको पशु चौपायामा फैलिएको खोरेत रोग नियन्त्रणमा आएको छ । जिल्लाको हेटौँडा उपमहानगरपालिकासहित विभिन्न स्थानीय तहमा खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन गरेपछि खोरेत रोग नियन्त्रणमा आएको पशु सेवा कार्यालय मकवानपुरले जनाएको छ ।
पशु सेवा कार्यालय हेटौँडाका प्रमुख डा. ब्रजकिशोर ठाकुरले खोरेत रोगबाट धमाधम पशुहरु प्रभावित भई मर्न थालेपछि खोरेत रोगविरुद्धको खोप अभियान चलाएको र अहिले पशुहरुमा देखिएको खोरेत रोग विस्तारै नियन्त्रणमा आइसकेको जानकारी दिए ।
उनका अनुसार, जिल्लाको १० वटै पालिकामा खोरेत रोगविरुद्धको खोप अभियान भदौ महिनाको पहिलो साताबाट सञ्चालन गरेको र हालसम्म करिब पाँच हजार पशुमा खोप लगाइएको छ । जसमध्ये सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाको विभिन्न वडामा गरी २३ हजार पशुमा खोप लगाइएको छ ।
यसैगरी, मकवानपुरगढी गाउँपालिकामा छ हजार आठ सय ७५, बागमती गाउँपालिकामा चार हजार सात सय, बकैया गाउँपालिकामा तीन हजार पाँच सय, मनहरी गाउँपालिकामा तीन हजार एक सय, इन्द्रसरोबर गाउँपालिकामा एक हजार चार सय ८८, थाहा नगरपालिकामा एक हजार चार सय ४५, भिमफेदी गाउँपालिकामा एक हजार पाँच, राक्सिराङ गाउँपालिकामा पाँच सय र कैलाश गाउँपालिकामा ३० पशुचौपायामा खोप लगाएको जनाइएको छ ।
खोरेत रोगबाट जिल्लाको १० वटा पालिकामा मध्ये नौ वटा पालिकामा फैलिएको खोरेत रोगबाट दुई हजार तीन सय ३९ पशुचौपाया प्रभाबित बनेकोमा एक सय एक पुशचौपायाको मृत्यु भएको पशु सेवा कार्यालय हेटौँडाका पशु चिकित्सक डा. विजय पौडेलले जानकारी दिए । सो रोगका कारण सबैभन्दा बढी हेटौँडामा खोरेत रोगबाट ४१ पशु मरेका उनको भनाई छ ।















