हेटौंडाकी क्यान्सर पीडित पातली माया थिङलाई ३ लाख ८१ हजार सहयोग

हेटौंडा । हेटौंडा–१३ निवासी स्तन क्यान्सर पीडित पातली माया थिङलाई ३ लाख ८१ हजार रुपैयाँ बराबरको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

कालिका  मावि हेटौंडा-१३ की व्यवस्थापन समितिका अध्यक्ष महिला उद्यमी तथा सामाजिक अभियान्ता संगीता वाइवाको अगुवाइमा सञ्चालन गरिएको एक महिने सहयोग अभियानमार्फत संकलित रकम शुक्रबार एक विशेष कार्यक्रमका बीच पीडित थिङलाई प्रदान गरिएको हो ।

वाइवाको सक्रियता र मानवीय संवेदनाबाट प्रेरित भएर सञ्चालन गरिएको यस अभियानले सामाजिक उत्तरदायित्वको उत्कृष्ठ उदाहरण प्रस्तुत गरेको छ ।

कार्यक्रममा हेटौंडा–१३ का वडा अध्यक्ष पेम्बा लामा, समाजसेवी फेन्चु रुम्बा लगायतको उपस्थित रहेको थियो । विगत पाँच वर्षदेखि पातली माया थिङको उपचारमा साथ दिँदै आएकी वाइवाले क्यान्सरको दीर्घकालीन उपचार खर्च थाम्न नसक्ने अवस्थामा पुगेपछि सामाजिक सञ्जाललाई माध्यम बनाएर सहयोगको अपिल गरेकी थिइन ।

उनका अनुसार, पातली माया थिङले सरकारले प्रदान गर्ने सेवा सुविधाहरू केही हदसम्म पाएकी भए पनि पछिल्लो चरणको उपचार निकै महँगो भएकाले आर्थिक कठिनाइ बढेको थियो ।

सामाजिक सञ्जालमा सक्रिय अपीलमार्फत संगीता वाइवाले देशभित्र र विदेशमा रहेका नेपाली मनहरूलाई छुने शब्दमार्फत सहयोग जुटाएकी हुन् । स–साना सहयोगहरू क्रमश थुप्रिँदै जाँदा रकमले उपचारको तत्कालीन आवश्यकतालाई केही सहज बनाउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष पेम्बा लामाले वाइवाले जुन प्रकारले सामाजिक सञ्जालको सदुपयोग गर्दै जीवन जोगाउने काम गरेकी छन्, त्यो आजको समाजमा अत्यन्त प्रेरणादायी रहेको बताए । अहिलेको समयमा सामाजिक सञ्जाल प्रायः नकारात्मक उद्देश्यका लागि प्रयोग भइरहेका बेला यसरी सकारात्मक उदाहरण प्रस्तुत गर्नु प्रशंसनीय कार्य गरेको बताए । समाजसेवी फेन्छु रुम्बाले पनि सहयोग अभियानले समुदायमा सेवा र सहानुभूतिको भावनालाई झन् मजबुत बनाएको बताए । उनका अनुसार, यस्तो कार्यले मात्र साँचो अर्थमा सामाजिक अभियान्ताको परिभाषा दिन्छ ।

सहयोग प्राप्त गरेकी पातली माया थिङ निकै भावुक थिइन् । उनले आफूजस्ता साधारण आम नागरिकको जीवन र मृत्युको दोसाँधमा साथ दिनेहरूप्रति गहिरो कृतज्ञता व्यक्त गरिन् ।  संगीता वाइवाको पहल नभएको भए अहिलेको अवस्थाबाट अघि बढ्न असम्भव जस्तै भएको बताईन ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.