हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा आठौं संस्करणको हेटौँडा कोरा २०२५ साइक्लिङ च्यालेन्ज सम्पन्न भएको छ । हेटौँडा राइडर्स क्लबको आयोजनामा शनिबार हेटौँडा कोरा २०२५ साइक्लिङ च्यालेन्ज सम्पन्न भएको हो ।
हेटौँडा ४ भुवनेश्वर (पशुपति) मन्दिरबाट सुरु भएको कार्यक्रम चुच्चेखोला, हटिया, गौरीटार, भोर्ले, रोतोमाटे, राजमार्ग हुँदै त्रिवेणीधाम, हेटौँडा सिमेन्ट रोड, गुम्बा चोक, कर्रा हुँदै बुद्धचोकमा आएर समापन गरिएको थियो ।
कार्यक्रमको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटले औपचारिक उद्घाटन गरेका थिए । करिब ५० किलोमिटरको दुरी रहेको हेटौँडा कोरोमा मकवानपुरसहित काठमाडौं, बारा, पर्सा र चितवनका गरी ३२५ जना साइकलयात्रीको सहभागिता रहेको थियो । जसमा ४० जना भन्दा बढी महिला रहेका थिए ।
हेटौंडा राइडर्स क्लवले सन् २०१८ बाट हेटौंडा कोराको आयोजना गर्दै आएको छ । शहरलाई साइकलसँग जोड्नुका साथै स्थानीय तीर्थस्थल र वस्तीहरुको पहिचान गराउने, वातावरण जोगाउने र स्वस्थ रहन मद्दत पु¥याउने उद्देश्यले कार्यक्रमलाई प्रत्येक वर्ष निरन्तरता दिँदै गएको आयोजक हेटौंडा राइडर्स क्लवका अध्यक्ष विकास ताम्राकारले बताए ।
सहभागीलाई हेटौंडा १५ नम्बर वडाले श्री आधारभूत विद्यालयको प्रागणमा खानाको व्यवस्था गरेको थियो । कार्यक्रमकैबीच विस्तारै साइकल चलाउने प्रतियोगिता समेत गरिएको थियो । प्रतियोगितामा राजिव ठाकुर प्रथम, सचिनराज रसाइली दोस्रो र रनिस श्रेष्ठ तेस्रो भए । उनीहरुलाई लक्ष्मण साइकल स्टोर्सले पुरस्कारको व्यवस्था गरेको थियो ।
यस्तै, निको अस्पताल प्रालिले एक÷एक जना ज्येष्ठ साइकलयात्री महिला र पुरुष तथा कान्छो साइकलयात्रीलाई मुटु जाँचको निःशुल्क प्रवन्ध गरेको थियो ।















