हेटौंडा । चैनपुर जेसीज मनहरी वर्ष सन् २०२६ को जेसीज सप्ताह बुधबारबाट सुरु भएको छ । जेसीजले प्रत्येक वर्ष विविध कार्यक्रमको आयोजना गरी जेसीज सप्ताह मनाउँदै आएको छ ।
जेसीज सप्ताहको पहिलो दिन शाखा अध्यक्ष सुरेश गौतमको प्रकरण (थिम) ‘आजको तयारी, भोलीको नेतृत्व’ विषयमा वक्तृत्वकला भएको हो । मनहरी गाउँपालिका ३ हाँडीखोलामा रहेको महेन्द्रज्योति उच्च माविका विद्यार्थीका बीच प्रतियोगिता भएको हो ।
प्रतियोगितामा दिपेश सिन्तान प्रथम हुँदा परिसा पौडेल द्वितीय, सृजना लामिछाने तृतीय र बिन्दु थिङ सान्त्वना भएका छन् । प्रतियोगितामा ८ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
कार्यक्रम संयोजक अन्जन सापकोटाको संयोजकत्व एवम् शाखा अध्यक्ष गौतमको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका ३ नम्बर वडा अध्यक्ष अनन्तप्रकाश अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जेसीजका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, पूर्व अध्यक्ष रविन ढकाल, अध्यक्ष सल्लाहकार एवम् मनहरी गाउँपालिकाका स्रोत शिक्षक विदुर थापालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
जेसीज सप्ताह अन्तर्गत बिहीबार मनहरी ६ बालभन्ज्याङमा रहेको राष्ट्रिय सरस्वती प्राविमा अनुप अधिकारीको संयोजकत्वमा स्टेसनरी सामग्री वितरण, २३ गते पशुपतिनाथ माविमा सरोज देवकोटाको संयोजकत्वमा खेलकुद सामग्री वितरण हुनेछ । यस्तै २४ गते मनहरी ४ मा सुरज कार्कीको संयोजकत्वमामा स्लो मोटरसाइकल रेस प्रतियोगिता, २५ गते विहान रोशन ढकालको संयोजकत्वमामा पशुपतिनाथ मन्दिर सरसफाइ र त्यसपछि मनहरी ४ मै सगुन सुवेदीको संयोजकत्वमा जेसीज सदस्यबीच हाजिरीजवाफ प्रतियोगिता हुने जेसीज सप्ताह मूल कार्यक्रम संयोजक राजु सुवेदीले जानकारी दिए ।














