हेटौंडा । छैठौं राष्ट्रिय महिला अधिकार दिवस २०८२ को अवसरमा हेटौंडामा ‘एक तिहाई महिला सहभागिताको कार्यान्वयनमा प्राप्त उपलब्धि र चुनौती’ विषयक बहस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महिला अधिकारका सवालमा राजनीतिक दल, सरकारी निकाय तथा नागरिक समाजका प्रतिनिधिहरूको सक्रिय सहभागिता थियो ।
अखिल नेपाल महिला संघ जिल्ला कमिटी मकवानपुरकी अध्यक्ष सुमित्रा काफ्लेको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सरकारकी उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्री शुक माया तामाङ प्रमुख अथित्यता रहेको थियो । कार्यक्रमको सम्बोधन गर्दै मन्त्री तामाङले महिला आन्दोलनकै कारण महिलाहरूले आजका दिनसम्म अधिकार हाँसिल गर्न सफल भएको उल्लेख गर्दै प्राप्त अधिकारलाई व्यवहारमा रूपान्तरण गर्न अझ धेरै काम गर्न बाँकी रहेको बताइन् । आर्थिक सशक्तिकरणको नारा उठे पनि व्यवहारमा प्रभावकारी कार्यान्वयन नहुँदा चुनौती कायम रहेको उनको भनाइ थियो ।
मन्त्री तामाङले आफू मन्त्री बनेपछि महिलाको उद्यमशीलता प्रोत्साहनका लागि उद्योग दर्तामा ५० प्रतिशत छुट र शुल्क ७ हजारबाट घटाएर ३५ सयमा झारिएको जानकारी दिइन् । साथै, महिला तथा युवालक्षित कोष स्थापना गर्ने तयारीबारे पनि उनले जानकारी गराइन् ।
कार्यक्रममा नेकपा एमाले मकवानपुरका ईन्चार्ज रामेश्वर रानाले एमाले सधैं महिलाको हक–अधिकारका पक्षमा खटिएको दाबी गर्दै महिला अधिकार सुनिश्चिततामा पार्टीको भूमिका माथि प्रकाश पारे ।
बहस कार्यक्रममा गैर नेकपा एमालेका केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, प्रदेश कमिटी सदस्य रघुनाथ खलाल, इन्द्रमान तामाङ, एमाले मकवानपुरकी सचिव सिता विष्ट, उप–सचिव आरती पाठक, हेटौंडा–११ की वडा अध्यक्ष जुना दाहाल , गैरसरकारी संस्था मकवानपुरी अध्यक्ष रमिला सापकोटा लगायत विभिन्न संघ–संस्थाका महिला प्रतिनिधिहरूले आ–आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा महिला सहभागिता, अधिकार कार्यान्वयनका चुनौती र आगामी दिनमा लैङ्गिक समानताको दिशामा आवश्यक रणनीति तथा नीति निर्माणका विषयमा गहन छलफल भएको थियो ।















