हेटौँडा । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट मकवानपुर क्षेत्र नम्बर–१ की उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले आफ्नो ९ बुँदे संकल्पपत्र सार्वजनिक गरेकी छिन्।
निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरिएको संकल्पपत्रमा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन, सामाजिक सुरक्षा तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ। आफू निर्वाचित भएपश्चात् क्षेत्रको समग्र विकास र जनताको जीवनस्तर सुधारमा केन्द्रित भएर काम गर्ने डिनाको भनाइ छ।
संकल्पपत्रअनुसार संविधान, लोकतन्त्र, संघीयता र समावेशिताको रक्षा गर्दै मानव अधिकारको प्रत्याभूति गराइने उल्लेख छ। ‘विद्युतीय सुशासन’मार्फत छरितो, पारदर्शी र भ्रष्टाचारमुक्त सेवा प्रवाह सुनिश्चित गरिने तथा शान्ति, सुशासन र स्थिरताका लागि ‘मेरो निर्वाचन क्षेत्र–मेरो प्रतिबद्धता’ अभियान सञ्चालन गरिने जनाइएको छ।
पूर्वाधार विकासतर्फ रातोमाटे–राप्ती पुल–चौकीटोलसम्म वैकल्पिक मार्ग सञ्चालन, त्रिभुवन राजपथ अन्तर्गत बुद्धचोकदेखि भैंसेसम्म १६ मिटर सडक कायम गरी पर्यटन मार्ग विकास, बागमती–सिन्धुली सडक, निजगढ डम्बरपुर–चुच्चेखोला सडक तथा फास्ट ट्र्याक निर्माणमा समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता गरिएको छ। साथै हेटौँडाका विभिन्न वडालाई जोड्ने पक्की तथा झोलुङ्गे पुल निर्माण, सडक विस्तारबाट प्रभावितलाई क्षतिपूर्ति, सबै पालिकामा विद्युत् र इन्टरनेट सेवा विस्तार गर्ने योजना पनि समेटिएको छ।
शिक्षा र अनुसन्धानतर्फ मकवानपुरमा सरकारी इन्जिनियरिङ कलेज, आइटी तथा जैविक विविधता अनुसन्धान केन्द्र स्थापना, सामुदायिक विद्यालयलाई सोलार ऊर्जामैत्री बनाउने, आधारभूत तहमा मातृभाषा शिक्षा र माध्यमिक तहमा गणित, विज्ञान र कम्प्युटर शिक्षक अनिवार्य गर्ने उल्लेख छ। बागमती विश्वविद्यालयमा नयाँ प्राविधिक तथा व्यावसायिक विषय सञ्चालन गर्ने र बहुप्राविधिक महाविद्यालय स्थापना गर्ने प्रतिबद्धता पनि संकल्पपत्रमा समेटिएको छ।
स्वास्थ्य सेवाअन्तर्गत मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने, प्रत्येक पालिकामा चिकित्सक, नर्स र डायग्नोस्टिक ल्याबसहितको अस्पताल, ७० वर्षमाथिका जेष्ठ नागरिकका लागि घरदैलोमै स्वास्थ्य परीक्षण, निःशुल्क एम्बुलेन्स सेवा तथा विपन्न वर्गलाई लक्षित निःशुल्क स्वास्थ्य नीतिमा पहल गर्ने जनाइएको छ।
रोजगारी तथा उद्यमशीलतामा हरेक पालिकामा सीपमूलक तालिम केन्द्र, ‘युवा स्वरोजगार सूचना केन्द्र’ स्थापना, विद्यार्थीका लागि पार्ट–टाइम जबसम्बन्धी कानुनी व्यवस्था, औद्योगिक क्षेत्रको विस्तार र पुनःसञ्चालन गर्ने योजना रहेको छ। कृषि र जडिबुटीतर्फ ‘८ अ’ अभियानमार्फत उत्पादन र व्यवसायीकरण, जडिबुटीको ब्राण्डिङ तथा एकीकृत बस्ती विकास गर्ने प्रतिज्ञा गरिएको छ।
पर्यटन तथा संस्कृतितर्फ धार्मिक र पर्यटकीय गन्तव्यको गुरुयोजना, संग्रहालय स्थापना, गढी संरक्षण, बागमती नदी तटमा कृषि पर्यटन, रक पार्क र कृत्रिम ताल निर्माण गर्ने उल्लेख छ। साथै दलित, आदिवासी, एकल महिला र अपांगता भएका नागरिकका लागि विशेष रोजगार तथा सुरक्षा कार्यक्रम ल्याइने जनाइएको छ।
विपद् व्यवस्थापनका लागि दमकल, एम्बुलेन्स र आत्महत्या न्यूनीकरण परामर्श सेवालाई एकीकृत गरी ‘कल सेन्टर’मार्फत चौबीसै घण्टा सेवा प्रवाह गर्ने प्रतिज्ञा गरिएको छ।
संकल्पपत्र सार्वजनिक गर्दै उम्मेदवार डिनाले निर्वाचित भएपश्चात् हरेक घरदैलोमा पुगेर जनताको समस्या सुन्ने र समाधानका लागि दृढतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै मकवानपुर क्षेत्र नम्बर–१ का मतदातालाई एकपटक सेवा गर्ने अवसर दिन आग्रह गरेकी छिन्।
















