मकवानपुर । नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) समितिले यही चैत्र ३० गते मनहरीमा जनप्रतिनिधिसँग पार्टीको अन्तरसम्वाद कार्यक्रमको आयोजना गर्ने भएको छ ।
कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिका बिच छलफल गर्ने उद्देश्यका साथ अन्तरसंवाद कार्यक्रमको आयोजना गर्न लागेको जनाइएको छ। आयोजकले पत्रकारमार्फत् कार्यक्रमको विषयमा जानकारी गराइएको हो ।
कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) का प्रदेश सभापति रन्जन कालाखेतीले कांग्रेसबाट जितेका जनप्रतिनिधिका बिच सुमधुर सम्बन्ध बनाउनुका साथै आगामी योजनाको विषयमा छलफल गर्न कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।
‘ पार्टी र जनप्रतिनिधिले आ–आफ्नै तवरले अभियान सन्चालन गरिरहेको हुन्छ । तर पार्टी र जनप्रतिनिधिका बिच समन्वय नभएको र केही विवाद जस्तो देखिँदै आएको हुन्छु ’, कालाखेतीले भने, ‘ हामी पार्टीबाट टिकट पाएर जितेकोले पार्टीप्रती उत्तरदायी समेत हुन्छौं । पार्टीसंग सल्लाह, छलफल गर्नेछौं ।’
कार्यक्रममा क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) अन्तर्गत रहेको मनहरी, राक्सिराङ र कैलाश गाउँपालिका तथा हेटौंडा ३ र १९ नम्बर वडाका सभापतिहरु, यहाँबाट निर्वाचित जनप्रतिनिधि तथा पार्टीका पदाधिकारीको सहभागिता रहने आयोजकले जनाएको छ ।
मनहरी–८ स्थित आमा घर आश्रममा हुने कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् यसै क्षेत्रबाट निर्वाचित प्रदेश सांसद इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता हुने जनाइएको छ । क्षेत्रीय सभापति कालाखेतीले कार्यक्रममा सहभागी हुन वडा सभापति तथा जनप्रतिनिधिहरुलाई अनुरोध समेत गरेका छन् ।

















