मकवानपुरको इन्द्रसरोबर दुर्घटना अपडेटः एक जनाको मृत्यु, १८ जना घाइते

मकवानपुर । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ स्थित धारा क्षेत्रमा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने घाइते हुनेको संख्या १८ पुगेको छ।

शनिबार दिउँसो करिब १२ः३० बजे हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज ७२०७ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको बिएए ९७६८ नम्बरको बोलेरो पिकअप एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा घाइते भएका काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ घर भई हाल काठमाडौँ बस्दै आएका ३७ वर्षीय पूर्णबहादुर तामाङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि काठमाडौँस्थित बी एन्ड बी अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले शनिबार मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार, बोलेरो पिकअपमा सवार व्यक्तिहरू काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोलास्थित एक पानी कम्पनीमा कार्यरत कामदार थिए। उनीहरू मकवानपुरको सिस्नेरी क्षेत्रमा पिकनिक मनाउन जाँदै गर्दा गाडी अनियन्त्रित भई पल्टिएर सुमोसँग ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुर्घटनामा घाइते भएका १८ जनामध्ये १७ जनाको बी एन्ड बी अस्पताल र एक जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घाइतेमध्ये ११ जनाको अवस्था मध्यम र सात जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनापछि सुमो चालक काठमाडौँको चन्द्रागिरि नगरपालिका–१४ निवासी ४५ वर्षीय मनोज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार, यसअघि दुर्घटनामा १४ जना घाइते भएको प्रारम्भिक जानकारी सार्वजनिक गरिएको भए पनि थप विवरण आउँदा घाइतेको संख्या १८ पुगेको र एक जनाको उपचारका क्रममा मृत्यु भएको पुष्टि भएको हो।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.