मकवानपुर । मदन भण्डारी लोकमार्ग अन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–८ तल्लो भवानीस्थित गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक मकवानपुरको बकैया गाउँपालिका–८ बस्तिपुर निवासी ४० वर्षीय प्रेमबहादुर गोले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर प्रहरीका अनुसार, दुर्घटना भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
फापरबारीबाट हात्तिसुडे तर्फ जाँदै गरेको प्रदेश ३–०२–००५ प १००८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई नालामा खसेर दुर्घटना हुँदा गोले गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते गोलेलाई उद्दार गरी उपचारका लागि तत्काल हेटौँडा अस्पताल ल्याइएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
















