हेटौंडा क्याम्पसमा तामाङ ज्ञान तथा अनुसन्धान विषयक एक दिवसीय सेमिनार सम्पन्न

हेटौंडा । हेटौंडा क्याम्पसमा तामाङ ज्ञान तथा अनुसन्धान विषयवस्तु अन्तर्गत एक दिवसीय सेमिनार सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालय तामाङ विद्यार्थी घेदुङ कार्यसमिति तथा तामाङ स्टडी सर्कलको संयुक्त आयोजनामा बिहीबार उक्त कार्यक्रम सम्पन्न भएको हो।

नयाँ युवा पुस्तामा सामाजिक तथा सांस्कृतिक चेतनाको विकास गर्नुका साथै यस्ता विषयप्रति सकारात्मक सोचको विकास गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका वक्ताहरूले महत्वपूर्ण विषयवस्तुमा प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार तथा नेपाली कांग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामाले राजनीतिक चेतना र नेतृत्व विकासमा तामाङ युवाको भूमिका विषयमा धारणा राखेका थिए ।

त्यस्तै, नेपाल तामाङ घेदुङका संघीय सदस्य मेम्वर लामाले तामाङ संस्कारको सामाजिक तथा ऐतिहासिक दृष्टिकोण प्रस्तुत गरेका थिए। नेपाल बैंक लिमिटेडका वरिष्ठ प्रवन्धक मकर तामाङले तामाङ समुदायका राज्य–स्वामित्वका बैंकहरूमा समावेशी नीति र प्रतिनिधित्व विषयमा आफ्नो प्रस्तुति दिए ।

यस्तै, तामाङ सोसाइटी अफ (एनएसडब्लु), अष्ट्रेलियाबाट अविरल तामाङले तामाङ भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा प्रवासी समुदायको भूमिका विषयमा धारणा व्यक्त गरे। अन्त्यमा, इतिहास केन्द्रीय विभागका विद्यार्थी निश्चिल तामाङले राज्य बनाम तामाङ समुदायः तामाङ समुदायको ऐतिहासिक सीमान्तीकरण विषयमा प्रस्तुतिकरण गरे।

कार्यक्रममा हेटौंडा क्याम्पस, मकवानपुर बहुमुखी क्याम्पस, निर्मल क्याम्पस तथा मनहरी क्याम्पसका तामाङ विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले आफ्नो संस्कार, परम्परा, पहिचान, धर्म तथा भाषाका विषयमा प्रत्यक्ष रूपमा बुझ्ने र छलफलमा सहभागी हुने अवसर पाएकोमा खुशी व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.