बागमतीमा जेठ ११ देखि बजेट अधिवेशन, नीति तथा कार्यक्रम ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन आगामी जेठ ११ गतेदेखि आह्वान गर्ने तयारी गरेको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख दिपकप्रसाद देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार, अधिवेशनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरिनेछ ।

बैठकले मन्त्रालयहरुको संख्या घटाइएपछि प्रशासनिक कार्यसम्पादनलाई व्यवस्थित बनाउन प्रदेश सरकारको कार्यविभाजन नियमावली संशोधन गर्ने निर्णय समेत गरेको छ । नयाँ संरचनाअनुसार मन्त्रालयहरुको जिम्मेवारी स्पष्ट पार्न नियमावली परिमार्जन गर्न लागिएको जनाइएको छ ।

यसअघि वैशाख २२ गते बसेको मन्त्रिपषद् बैठकले प्रदेशमा कायम रहेका १४ वटा मन्त्रालयलाई घटाएर ८ वटा कायम गर्ने निर्णय गरेको थियो ।

यस्तै, मन्त्रिपरिषद् बैठकले स्वास्थ्य क्षेत्रअन्तर्गत भक्तपुर अस्पतालमा डा. त्रिलोचन चन्द्र झा र धादिङ अस्पतालमा डा. नवीन मास्केलाई मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदस्थापन गर्ने निर्णय गरिएको प्रवक्ता तामाङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.