हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाका स्वास्थ्यकर्मीका लागि तीन दिने स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली तालिमको आयोजना भएको छ । गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा सक्रिय प्रेम सेवा समाजको आयोजनामा आयोजित तालिम सोमबार एक कार्यक्रमका बीच उद्घघाटन गरिएको हो ।
समाजका अध्यक्ष मीरा स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो । पालिका अध्यक्ष मुक्तानले गाउँपालिकाको स्वास्थ्यका सम्पूर्ण स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा राख्दै आइरहेको बताए ।
वडागत स्वास्थ्य प्रमुखलाई स्वास्थ्य क्षेत्रमा गरिने कार्यलाई चुस्तदुरुस्त राख्न गाउँपालिकाले ट्याब वा ल्यापटपको व्यवस्था गरेको उनको भनाई थियो । सबै वडामा स्वास्थ्य पहुँच पुगेको बताउँदै उनले डाक्टरसहित १० शैयाको आधारभूत अस्पताल सञ्चालनमा रहेको जानकारी दिए ।
आवश्यकता अनुसार वर्थिङ सेन्टर, सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा प्रवाह गरिरहेको जानकारी दिँदै उनले शिक्षा र स्वास्थ्यका कार्यक्रमले दिएको नतिजाले सर्सतमा आउने बजेट समेत वृद्धि भएको अबताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले समाजले गाउँपालिका भित्र स्वास्थ्य क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै आगामी दिनहरुमा पनि गाउँपालिकाको साथ सहयोग र सहकार्य रहने बताए ।
यहाँको भूगोललाई नजिकबाट चिनेको संस्थाको रुपमा रहेकाले स्वास्थ्य, समाज रुपान्तरणका लागि काम गरिएको बताए । कार्यक्रममा थाहा नगरपालिकाका पूर्व उपमेयर खड्ग गोपाली, कार्यक्रममा प्रशिक्षक सुजन श्रेष्ठ, सिडीईइएफका कार्यक्रम संयोजक भवानी प्रधान, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतम, प्रेम सेवा समाजका सचिव रामसिं प्रजा, कार्यक्रम संयोजक जानुका कान्दवा लगायतको आतिथ्यता रहेको थियो ।
कैलाशका स्वास्थ्य शाखा, र सबै वडाका स्वास्थ्य चौकीका इन्चार्जको सहभागिता रहेको तालिममा स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली, डाटा प्रविष्टि तथा तथ्यांक व्यवस्थापन, सार्वजनिक सम्पति व्यवस्थापन प्रणालीको प्रयोग, व्यवस्थापन र यसको समुचित व्यवस्थापन सम्बन्धी ज्ञान, सीप प्रदान गरिने बताइएको छ ।














