मकवानपुर । मकवानपुरमा शुक्रबार बिहान दुई छुट्टाछुट्टै सवारी दुर्घटना भएका छन् । एउटा दुर्घटनामा भ्ख् कार सडकबाट तल खस्दा चालक घाइते भएका छन् भने अर्को दुर्घटनामा डिब्बा ट्रक पल्टिँदा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ ।
जिल्लाको बागमती गाउँपालिका–७, धनसाईस्थित मदन भण्डारी लोकमार्गमा बिहान करिब ४ः२० बजे सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३० च ८५३० नम्बरको इभी कारको अगाडिको बायाँ साइडको टायर पन्चर भई अनियन्त्रित हुँदा सडक डिभाइडरमा ठोक्किएर करिब १० मिटर तल खोला बगरमा खसेको मकवानपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा कार चालक भक्तपुर सूर्यविनायक नगरपालिका–४ बस्ने अन्दाजी ४५ वर्षीय भरत कार्की सामान्य घाइते भएका छन् । उनलाई उपचारका लागि स्थानीय मेडिकलमा पठाइएको छ । कारमा चालकसहित तीन जना सवार रहेका थिए । चालकले मादक पदार्थ सेवन नगरेको र सवारीका कागजपत्र साथमै रहेको जनाइएको छ । दुर्घटनास्थलमा प्रहरी सहायक निरीक्षक राम प्रसाद यादवको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।
यस्तै, बिहान करिब ५ बजेको समयमा भीमफेदी गाउँपालिका–८, भ¥याङडाँडास्थित कान्तिलोकपथ सडकखण्डमा हेटौंडाबाट काठमाडौंतर्फ डाइपर लोड लिएर जाँदै गरेको ना ६ ख ७२८ नम्बरको ६ चक्के डिब्बा ट्रक पल्टिँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
प्रहरीका अनुसार, सडकको भित्तातर्फ थुप्रिएको ढुंगा खस्दा ट्रकको चक्का सोही ढुंगामा चढ्न गई अनियन्त्रित भई पल्टिएको हो । ट्रक हटाई सडक सञ्चालनमा ल्याउन सडक विभागसँग समन्वय भइरहेको जनाइएको छ ।
ट्रकमा चालकसहित तीन जना सवार रहेकोमा दुई जना सामान्य घाइते भएका छन् । उनीहरूले आफैं उपचार गराउने भन्दै गएको प्रहरीले जनाएको छ । ट्रक चालक भने फरार रहेका छन् र हाल प्रहरी सम्पर्कमा नरहेको बताइएको छ ।















