हेटौैंडा । हेटौैंडा उपमहानगरपालिकाको विभिन्न ९ वटा वडामा महिला हिंसा विरुद्धको सडक नाटक प्रदर्शन हुने भएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको अवस्थामा उपमहानगरपालिका कार्यालयको प्रवद्र्धनमा उज्जवल भविष्य नेपालले महिला हिंसा विरुद्धको सन्देश दिन सडक नाटक ‘ट्वाक ट्वाक’ प्रर्दशन गर्ने भएको हो ।
संस्थाले बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गरेर हेटौंडा उपमहानगरका ९ वटा वडामा प्रदर्शन हुने जानकारी दिएको हो । विद्यालय परिसर र आसपासका चोकमा नाटक प्रदर्शन गर्न लागिएको हो । नाटक प्रदर्शन आज शुक्रबारबाटै सुरु हुनेछ । आज हेटौंडा १ स्थित अमर माविमा देखाइने नाटक आइतबार हेटौंडा २ को सिद्धार्थ मावि, सोमबार हेटौंडा ४ को श्रमिक मावि, मंगलबार हेटौंडा ५ को बालज्योति मावि र बुधबार हेटौंडा ८ को चन्द्रोदय मावि परिसरमा देखाइने छ ।
यस्तै बिहीबार हेटौंडा ९ को प्रगति मावि, आगामी शुक्रबार हेटौंडा–१० को बुद्ध चोक आसपास, मंसिर २७ गते हेटौंडा ११ को सुकुम्बासी टोल र मंसिर २८ गते हेटौंडा १५ को रातोमाटेमा देखाइने कार्यक्रम संयोजक राजुराम राउतले जानकारी दिए । आशाकाजी श्रेष्ठले लेखेको नाटकलाई अमर गुरुङले निर्देशन गरेका छन् । नाटकमा कुमार शाह, निता लामा, सुस्मिन गुरुङ, अन्तिमा लामालगायत १६ जना कलाकार रहेका छन् ।
महिला हिंसा विरुद्धको सचेतना फैलाउनका लागि उपमहानगरपालिकाको विभिन्न वडाको चोक तथा विद्यालयमा नाटक प्रदर्शन गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।















