हेटौंडा । मकवानपुरगढी गाउँपालिका–२ सिखरकटेरीस्थित कान्तिलोकपथ सडकखण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा स्कुटर चालक मकवानपुरगढी गाउँपालिका–२ लामिडाँडाका अन्दाजी ५५ वर्षीय दोर्जेरत्न योञ्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
शनिबार (आज) काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ९६११ नम्बरको खाली बसले विपरीत दिशाबाट आइरहेको ना.५९ प ३३४५ नम्बरको स्कुटरलाई घुम्तीमा ठक्कर दिएको थियो । सो क्रममा स्कुटर चालक योञ्जन गम्भीर घाइते भएका थिए।
घाइते योञ्जनलाई बस चालकले तत्काल उपचारका लागि हेटौंडा अस्पताल पुर्याएका थिए। पछि थप उपचारका लागि चुरेहिल अस्पताल, मकवानपुर लगिएकोमा उपचारकै क्रममा अपराह्न ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न बस, चालक काभ्रेको चौरीदेउराली गाउँपालिका–२ का अन्दाजी ४१ वर्षीय शिवबहादुर चौलागाईं र स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट करिब ५ किलोमिटर पश्चिममा पर्छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।















