हेटौँडा । पटक–पटक सूचना निकाल्दै रोकिँदै आएको हेटौँडाको सडक विस्तारको लागि तीब्र गतिमा आवश्यक तयारी अघि बढाइएको छ । सडक विस्तारका लागि रेखांकनको काम सम्पन्न भएको छ ।
यही मंसिर २० गतेबाट सडक विस्तार गर्ने गरी बिहीबारबाट सुरु भएको रेखांकनको काम हिजो (शुक्रबार) सम्पन्न भएको हो । मुख्य राजमार्गको २५ गज दायाँ–बायाँ सडक अतिक्रमण गरी निर्माण गरिएका स्थायी तथा अस्थायी संरचना हटाउन सडक डिभिजन कार्यालय हेटौँडाले रेखांकन र रङ लगाउने काम सुरु गरेको थियो ।
कार्यालयले हेटौँडा–१५, रातोमाटेबाट मार्किङको काम सुरु गरेको थियो । दुई दिनमा रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुल र बुद्ध चोकदेखि चौकीटोल हुँदै सामरी पुलसम्म रेखांकनको काम सकिएको डिभिजन सडक कार्यालय हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए ।
डिभिजन सडक हेटौँडाले मंसिर ५ गते १५ दिने सूचना जारी गर्दै राजमार्गको दायाँबायाँ अतिक्रमण गरी बनाइएका स्थायी तथा अस्थायी संरचना हटाउन सूचना निकालेको थियो ।
सडक डिभिजन प्रमुख अधिकारीका अनुसार, मंसिर १९ गतेसम्म स्वैच्छिक रूपमा संरचना हटाउन समय दिइएको छ । साथै उनले समयसीमाभित्र संरचना नभत्काए सडक विभागले कानुन अनुसार संरचना भत्काउने चेतावनी समेत दिएका छन् ।
सडक विस्तारका क्रममा महत्वपूर्ण खण्डमा सवारी आवागमन अवरुद्ध हुने भएकाले वैकल्पिक रूपमा विभिन्न बाइपास मार्ग सञ्चालन गरिने भएको छ । हेटौँडाबाट काठमाडौं–भैँसे हुँदै झर्ने सवारीसाधनलाई चौकीटोल–राप्ती नदी उकास–त्रिवेणीधाम हुँदै रातोमाटेतर्फ लैजाने व्यवस्था मिलाइनेछ भने पूर्व–पश्चिम राजमार्गतर्फ पूर्व जाने सवारीलाई राप्ती किनार भएर रातोमाटे मार्ग प्रयोग गराइनेछ ।
यसैगरी, मदन भण्डारी लोकमार्ग र कान्ति लोकपथ हुँदै आउने सवारीसाधनलाई कमानेबाट रातोमाटे निस्कने गरी बजार क्षेत्रमा सिधै प्रवेश रोक्ने व्यवस्था गरिने भएको छ । ती बाइपास सडकहरूमा भएका अत्यावश्यक मर्मतसम्हार मंसिर २० गतेभित्रै सम्पन्न गरिने पनि डिभिजन सडक कार्यालयका प्रमुख अधिकारीले बताए ।















