हेटौंडा । दलित महिला संघ (फेडो) मकवानपुरले उद्यम विकास प्रवद्र्धनका लागि ४ वटा स्थानीय तहका ३० दलित महिला समूहलाई बीउपूँजी हस्तान्तरण गरेको छ । बिहीबार जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा भएको एक कार्यक्रमकाबीच हेटौंडा उपमहानगरपालिकासहित बकैया, भीमफेदी र मनहरी गाउँपालिकामा रहेका महिला समूहहरूलाई २५ हजारदेखि ६० हजार रुपैयाँसम्मको बीउपूँजी वितरण गरेको हो ।
हेटौंडा उपमहानगरपालिकाका २० वटा, बकैयाका ८ वटा तथा भीमफेदी र मनहरी गाउँपालिकाका एक÷एकवटा समूहले बीउपूँजी प्राप्त गरेको छन् । उद्यम विकास प्रवद्र्धन कार्यक्रम अन्तर्गत ६० हजार रुपैयाँ र अनुदान मिलन कोषमार्फत २५ हजार रुपैयाँ प्रदान गरिएको फेडो मकवानपुरले जनाएको छ ।
हेटौंडाका ५ समूहले ६० हजार रुपैयाँ र १५ समूहले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । बकैया गाउँपालिकामा ५ समूहलाई ६० हजार र ३ समूहलाई २५ हजार रुपैयाँ उपलब्ध गराइएको फेडोका कार्यक्रम संयोजक विमला विश्वकर्माले जानकारी दिइन् । भीमफेदी र मनहरीका समूहले समान २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
बीउपूँजी वितरण अघि प्रत्येक समूहका महिलालाई आवश्यक सबै तालिम प्रदान गरिएको विश्वकर्माले जानकारी दिइन् । दलित महिलालाई विभिन्न व्यवसाय, कृषि, पशुपालन, घरेलु उद्योग तथा हस्तकला क्षेत्रमा संलग्न गराएर आर्थिक सुदृढता बढाउने उद्देश्यले फेडोले विगत तीन वर्षदेखि कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा सहभागी महिला समूहका सदस्यहरूले फेडोको उद्यम विकास कार्यक्रमले आर्थिक रूपमा सक्षम बनाउनको साथै आत्मविश्वास बढाएको बताएका छन् । बीउँ पूँजी ६ महिनासम्म बिना ब्याज प्रयोग गर्न पाउने व्यवस्था रहेको छ । हालसम्म ४६ जना दलित महिला यस योजनाबाट लाभ लिएर सफल उद्यमी बनेको फेडोले जनाएको छ ।
परियोजनाको पहिलो वर्ष १० समूहलाई ४२ हजार र दोस्रो वर्ष १० समूहलाई ३५ हजार रुपैयाँ वितरण गरिएको थियो । रिफन्डेबल कोषको रूपमा समूहले सिफारिस गरेका सदस्यलाई बीउपूँजी उपलब्ध गराउँदै आएको छ । रकम लिएको एक महिनाभित्र व्यवसायिक योजना अनुसार काम सुरु गर्नुपर्ने र ६ महिनाभित्र समूहलाई फिर्ता गर्नुपर्ने व्यवस्था सम्झौतामा उल्लेख छ ।
समयमै काम अघि नबढे फेडोले रकम फिर्ता लैजाने नियम लागू गर्दै आएको छ । नेपालमा दलित महिला तथा किशोरीहरूको मानव अधिकार प्रवद्र्धन परियोजना अन्तर्गत फाउण्डेशन फर जस्ट सोसाइटीको सहयोगमा कार्यक्रम सञ्चालन गरिरहेको छ ।
















