हेटौंडा । विश्व वातावरण दिवसको अवसरमा मकवानपुरको बकैया गाउँपालिका–७ स्थित हात्तीखोला क्षेत्रमा हात्तीखोला युवा क्लबको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बकैया गाउँपालिकाका उपाध्यक्ष भक्त खत्री, हात्तीचरण सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पोषबहादुर घिमिरे, हात्तीखोला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष यङ्कप्रसाद फुयाल, हात्तीखोला टोल विकास समितिका अध्यक्ष विकास खत्री तथा हात्तीखोला युवा क्लबका अध्यक्ष जिकेश सापकोटा लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन वातावरण संरक्षणसम्बन्धी सन्देश समेटिएको व्यानर वाचन गरी गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्रीद्वारा गरिएको थियो। त्यसपश्चात उपाध्यक्ष खत्री तथा स्थानीय बालबालिकाहरूले संयुक्त रूपमा बिरुवा रोपेर कार्यक्रमको औपचारिक शुभारम्भ गरेका थिए।
वृक्षारोपण कार्यक्रममा करिब ४० वटा अशोक तथा सिरिसका बिरुवाहरू सडक किनारमा रोपिएको आयोजकले जनाएको छ। वृक्षारोपण कार्यक्रममा स्थानीय युवा, बालबालिका, ज्येष्ठ नागरिक, हात्तीसुँड प्रहरी चौकीका प्रहरी कर्मचारी तथा स्थानीय सञ्चारमाध्यम पब्लिक आवाज का पत्रकारहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको अवसरमा हात्तीखोला युवा क्लबले बकैयाका प्रतिभाशाली एथलेटिक्स खेलाडी सन्तराम माझीलाई नगद रु. १,००० सहित सम्मानपत्र प्रदान गरी सम्मान गरेको छ। खेलकुद क्षेत्रमा उनले पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको क्लबले जनाएको छ।
क्लबले विगतदेखि नै खेलकुद, शिक्षा तथा सामाजिक विकासका क्षेत्रमा विभिन्न रचनात्मक तथा समुदायमुखी कार्यक्रम सञ्चालन गर्दै आएको छ।
खेलकुद प्रतियोगिताको आयोजना गर्नुका साथै विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण गरी शैक्षिक सहयोगसमेत उपलब्ध गराउँदै आएको अध्यक्ष जिकेश सापकोटाले जानकारी दिए। कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। उत्साहजनक सहभागिताका साथ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको क्लबले जनाएको छ।















