२० गतेबाट हेटौंडामा अतिक्रमण गरी बनाइएका संरचना भत्काइने

हेटौंडा । बागमती प्रदेशको राधजानी हेटौंडा बजार क्षेत्रको सडक विस्तार कार्य मंसिर २० गतेबाट सुरु हुने भएको छ । सडक अतिक्रमण गरेर बनेका स्थायी र अस्थायी संरचनाहरू १५ दिनभित्र हटाउन सम्बन्धित व्यक्तिहरूलाई सडक डिभिजन कार्यालय हेटौंडाले मंसिर ५ गते सूचना जारी गरिसकेको अवस्थामा २० गतेबाट संरचना भत्काउन सुरु गरिने भएको हो ।

सडक अतिक्रमण गरी बनेका संरचनाहरू मंसिर १९ गतेसम्म नहटाएमा सडक डिभिजन कार्यालय हेटौंडाले यही २० गते बिहानबाट डोजर लगाएर भत्काउने सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीले बताए । मंसिर २० गते बिहानबाट चार क्षेत्रबाट डोजर लगाएर अतिक्रमण गरी बनेका स्थायी र अस्थायी संरचनाहरू हटाइने उनले जानकारी दिए ।

संरचना हटाउन थालेपछि बजारको मुख्य भागमा सवारी साधन आउजाउ गर्न रोक लगाइने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यतिबेला सवारी साधन बाइपास रोड भएर आउजाउ गर्ने व्यवस्था मिलाइएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सडक विस्तारलाई तीव्रता दिनका ‘टास्क फोर्स’ समेत गठन गरिसकेको छ ।

प्रशासन कार्यालय मकवानपुरमा बुधवार बसेको सरोकारवालाको बैठकले सडक डिभिजन कार्यालय मकवानपुरका इन्जिनियर यादव सुवेदीको संयोजकत्वमा टास्क फोर्स गठन गरेको हो । समितिमा हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालय, खानेपानी व्यवस्थापन बोर्ड, वन कार्यालय, नेपाल विद्युत् प्राधिकरण र दूरसञ्चार प्राधिकरणलगायत सम्बन्धित निकायका प्रतिनिधि सदस्य रहेका छन् ।

टास्क फोर्सको कार्यालय सडक डिभिजन कार्यालयमै रहनेछ भने टोलीले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत सडक सीमा अतिक्रमण गरी बनेका स्थायी तथा अस्थायी संरचनाहरूको रेखांकन गर्ने, रङ लगाउने तथा आवश्यक कानुनी कारबाही अघि बढाउने जिम्मा पाएको छ । टोलीले बुधवारबाटै माइकिङसहित प्रारम्भिक कार्य सुरु गरिसकेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले सडक विस्तारका क्रममा विद्युत्, खानेपानी, टेलिफोन लगायतका अत्यावश्यक सेवामा अवरोध नआओस् भन्नका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.