हेटौंडा । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी खुर्सानीबारी नजिकको भित्री सडकखण्डमा बोलेरो गाडी दुर्घटना भएर बागमती नदीमा डुबानमा परेको छ।
शुक्रबार साँझ करिब ५:०० बजे ललितपुरबाट सिस्नेरीतर्फ आउँदै गरेको बा.प्र. ०१–०२८ च ७१९४ नम्बरको बोलेरो गाडी बागमती नदी तर्ने क्रममा नदीमा जमेको फिज (कटिङ/स्लिपरी सतह) मा पछाडिको चक्का ढुंगामा अड्किएर चिप्लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
चिप्लँदा गाडी अनियन्त्रित भई नदीमै पल्टिएर पानीमा डुबेको बताइएको छ। घटनाबारे जानकारी शनिबार (आज) दिउँसो १२:०० बजे प्रहरी चौकी सिस्नेरीमा आएपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरीका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति नभएको पुष्टि भएको छ।
डुबेको बोलेरो गाडीलाई स्थानीय र प्रहरीले संयुक्त रूपमा नदीबाट निकालेर सडक छेउमा राखिएको छ। गाडीमा भने भौतिक क्षति भएको प्रहरीले जनाएको छ। दुर्घटनास्थल प्रहरी चौकी सिस्नेरीबाट करिब ७ किलोमिटर पूर्व पर्छ।
















