हेटौँडा । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा हेटौँडा आउने भएका छन् । नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर–१ ‘ख’ ले ११२ औं वीपी जयन्तीको अवसरमा आयोजना गर्ने भेलालाई सम्बोधन गर्न थापा यही भदौं २४ गते आउने भएका हुन् ।
आज शनिबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमार्फत् मकवानपुरको प्रदेश सभा क्षेत्र नम्बर १ ‘ख’ सभापति राजेश बानियाँले सो बारे जानकारी गराएका हुन् । साथै उक्त भेलालाई सम्बोधन गर्न उनीसँंगै केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठ पनि हेटौँडा आउने सभापति बानियाले बताए ।
उनका अनुसार, उक्त कार्यक्रममा जिल्लाभरी बाट करिब दुई हजार कांग्रेस कार्यकर्ता र सुभेच्छुकहरुको सहभागिता रहने अनुमान गरिएको उनले बताए ।
कांग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामाले कार्यक्रम नीतिगत नभइ सन्देशमूलक रहने जानकारी दिए । उनले भेलामा पार्टीको समसमायिक विषय, प्रधानमन्त्री ओलीको चीन भ्रमण सन्दर्भ र कार्यसम्पादन समितिको विषयमा जानकारी दिने बताए । कांग्रेस मकवानपुर जिल्ला सदस्य, कार्यकता र जनप्रतिनिधिहरुलाई पार्टीका विधि, विधान र काम कारबाहि बारे विशेष सन्देश दिने कार्यतालिका तय भएको समेत उनको भनाई छ ।
पत्रकार सम्मेलनमा कांग्रेस जिल्ला सहसचिव इन्दिरा न्यौपाने, कांग्रेस मकवानपुर क्षेत्रीय सभापति सुशान्त श्रेष्ठ, कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुन चौलागाईं, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास बिडारी, प्रेस युनियन मकवानपुरका संस्थापक अध्यक्ष रामणि दाहाललगायतको सहभागिता रहेको थियो ।















