मकवानपुरमा बिरामी अवस्थामा रहेकी पत्नीको घाँटी थिचेर हत्या, पतीद्वारा प्रहरी समक्ष आत्मसमर्पण

मकवानपुर । मकवानपुरमा एक पुरुषले बिरामी अवस्थामा रहेकी आफ्नी पत्नीको हत्या गरेका छन् । जिल्लाको मकवानपुरगढी गाउँपालिका–५ बुङ्दोलका ४५ वर्षीय मानबहादुर शिवभक्तिले ४० वर्षीया श्रीमती दुर्गा लक्ष्मी शिवभक्तिलाई घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, प्यारालाइसिसका कारण हिँडडुल गर्न नसक्ने अवस्थामा रहेकी पत्नी दुर्गा लक्ष्मीलाई घरमा कोही नभएको बेला मानबहादुरले घाँटी थिचेर हत्या गरेका थिए ।

हत्या गरेपछि आत्महत्या गर्ने योजना बनाएका उनी झुण्डिन खोज्दा प्रयोग गरिएको डोरी चुडिएपछि आफै स्वयंम प्रहरीसमक्ष आत्मसमर्पण गर्न पुगेका थिए ।

प्रहरीसँगको प्रारम्भिक बयानमा उनले श्रीमतीको रोगका कारण लामो समयदेखि दवावमा रहेको र आफूले हत्या गरेपछि आत्महत्या गर्ने सोच बनाएको बताए ।

घटनाबारे जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट धादिङ मकवानपुरबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेको थियो । मृतक महिलाको शव ओछ्यानमै घोप्टो अवस्थामा फेला परेको थियो । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.