हेटौंडा । “हाम्रो क्याम्पस, हामी आफैं बनाउँछौं” भन्ने मूल नाराका साथ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालय इकाई समिति, वन विज्ञान अध्ययन संस्थान, हेटौंडाको आयोजनामा सरसफाइ तथा फुल रोप्ने कार्यक्रम सम्पन्न भएको छ
मंगलबार विश्व बाघ दिवस (जुलाई २९) को अवसरमा छात्रावास परिसर सरसफाइ तथा फुल रोप्ने कार्यक्रम सम्पन्न भएको गरिएको हो ।
कार्यक्रममा महिला तथा पुरुष छात्रावास वरपरको क्षेत्रको सरसफाइ गरी हरियाली प्रवर्द्धन गर्ने उद्देश्यसहित फूल रोपिएको थियो। छात्रावास क्षेत्र विगत लामो समयदेखि अव्यवस्थित फोहोर, सरसफाइको अभाव र फोहोर जलाउनेजस्ता अभ्यासका कारण दुर्गन्धित तथा अस्वस्थ वातावरणमा परिणत भइरहेको अवस्थामा यो पहल गरिएको हो।
पटक–पटक स्ववियु तथा क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गराउँदा पनि गम्भीर ध्यान नदिएकै कारण क्याम्पसको छवि “फोहोर क्याम्पस” का रूपमा स्थापित हुन थालेको थियो। सोही चुनौतीलाई ध्यानमा राख्दै विद्यार्थी स्वयंले सरसफाइको जिम्मेवारी लिने निर्णय गरेको अखिल (क्रान्तिकारी) ले जनाएको छ ।
“क्याम्पसलाई स्वच्छ, हराभरा र वातावरणमैत्री बनाउने हाम्रो अभियानमा साथ दिनुहुने सम्पूर्ण परिवर्तनकारी सोच भएका मनहरूलाई धन्यवाद दिन चाहन्छौं,” भन्दै कार्यक्रमपछि सामाजिक सञ्जाल फेसबूकमार्फत धन्यवाद दिइएको छ ।
संगठनले आगामी दिनहरूमा पनि वातावरणीय र शैक्षिक सुधारका अभियानमा अग्रसर रहने प्रतिबद्धता जनाएको छ।
फेसबूकमा भिडियो मार्फत सोही छात्रावास सरसफाइको अवस्था देखाउँदै केही समय अघि सामाजिक अभियान्ता आशिका तामाङले आवाज उठाएकी थिइन् ।
केही समयअघि सामाजिक अभियन्ता आशिका तामाङले सोही छात्रावासको सरसफाइ अवस्था प्रति ध्यानाकर्षण गराउँदै सामाजिक सञ्जालमार्फत आवाज उठाएकी थिइन् । उनले भिडियोमार्फत छात्रावासको दुर्गन्धयुक्त र अव्यवस्थित अवस्था सार्वजनिक गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएकी थिइन् ।



























