हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा यही फागुन २१ गतेदेखि खेलकुद तथा व्यापार महोत्सवको आयोजना हुने भएको छ । मनहरी गाउँपालिका ७ र ८ नम्बर वडाको खेल मैदानमा खेलकुदका प्रतियोगिता हुनेछ भने सिमपानी खेल मैदानमा महोत्सव सञ्चालन हुनेछ ।
चैत्र ४ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारीलाई तीव्र बनाइएको गाउँपालिकाको खेलकुद विकास समितिले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । खेलकुद विकास समितिको आयोजना, एभरेष्ट इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुन लागेको महोत्सवको संरक्षक मनहरी गाउँपालिकाको कार्यालय रहेको छ । महोत्सवमा फुटबल, भलिबल, क्रिकेट, ब्याड्मिन्टन र एथ्लेटिक्सको प्रतियोगिता सञ्चालन हुने खेलकुद विकास समितिका अध्यक्ष विरु लामाले जाकनारी दिए ।
फुटबल, क्रिकेट र एथ्लेटिक्स क्षेत्रीय रंगशालामा हुनेछ भने भलिबल गणेशधारा खेल मैदान र ब्याड्मिन्टन रमनटार कभर्डहलमा सञ्चालन हुने जानकारी दिइएको छ । फुटबलको विजेता र उपविजेताले क्रमशः नगद एकलाख र ५० हजार, भलिबलको विजेता र उपविजेताले ५० हजार र ३० हजार, क्रिकेटको विजेता र उपविजेताले ३० हजार र २० हजार, ब्याड्मिन्टनको विजेता र उपविजेताले ३० हजार र २० हजार तथा एथ्लेटिक्स अन्तर्गतको एकसय मिटर दौडको विजेता र उपविजेताले १० हजार र ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै २ सय मिटर दौडको विजेता र उपविजेताले १५ हजार र ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । स्थानीय खेलाडीको पहिचान गर्ने, खेलको माध्यमबाट पालिका चिनाउने तथा खेल र मनोरञ्जनलाई एकसाथ अघि बढाउने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको अध्यक्ष लामाले बताए । महोत्सवमा २ सय स्टल रहनेछ ।
राष्ट्रिय तथा स्थानीय कलाकारको प्रश्तुती समेत हुने जानकारी दिइएको छ । एकलाख जनाले महोत्सवको अवलोकन गर्ने र करिब ५ करोड रुपैयाँको कारोबार हुने आंकलन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
मनहरीमा यसअघि प्रत्येक वर्ष अध्यक्ष कप पुरुष फुटबल र उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुँदै आएको थियो । महोत्सवबाट बचेको रकम खेलकुद क्षेत्रकै विकासमा प्रयोग गरिने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा खेलकुद विकास समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

















