हेटौंडा । हेटौंडा उपमहानगरपालिका १५ नम्बर वडालाई बालमैत्री वडा घोषणा गर्ने भएको छ । आइतबार वडाले पत्रकार सम्मेलनमार्फत् “बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ मंगलबार बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गर्न लागेको जानकारी दिएको हो ।
हेटौंडा १५ नम्बर वडा अध्यक्ष सुनिल मोक्तानका अनुसार बालमैत्री घोषणा गर्न आवश्यक ५१ वटा सूचक पूरा भएसँगै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी पूरा भएको छ । ४५ वटा सूचक १०० प्रतिशत, ३ वटा सूचक ९७ प्रतिशत, २ वटा सूचक ९० प्रतिशत र एक वटा सूचक ८१ प्रतिशत नतिजा हासिलसँगै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएको उनले बताए ।
घरधुरी सर्वेक्षण २०७९ अनुसार २ हजार ३ सय ४५ घरधुरी रहेको छ । जसमा ५ हजार ४ सय १६ महिला, ५ हजार ५ सय ६१ पुरुष, लैंगिक अल्पसंख्याक २ जना गरेर १० हजार ९ सय ७९ जनसंख्या रहेका छन् । एक हजार ६ सय २४ बालक र एक हजार ५ सय ५७ बालिका गरी ३ हजार एक सय ८१ बालबालिका छन् । सामुदायिक, संस्थागत विद्यालय र बाल विकास केन्द्रसहित १० वटा विद्यालय सञ्चालनमा छन् ।
यस्तै २४ वटा बाल समूह र एक वटा बाल सञ्जाल छन् । जसमा ६ सय जना बालबालिका आबद्ध छन् भने विभिन्न संरचनागत समितिमा गरी ६ सय ४७ जना बालबालिका प्रत्यक्ष सहभागीता रहेको छ । २०७९ मंसिर २६ गते सरोकारवालाको उपस्थितिमा प्रतिबद्वता जाहेर गर्दै वडाले उक्त अभियान सुरु गरेको थियो ।

















