हेटौंडा । टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाको आयोजना तथा हेटौंडा उपमहानगरपालिका न्यायिक समितिको सहयोगमा कानुनी शिक्षा अनुशिक्षण कार्यक्रम आयोजना भएको छ । हेटौंडा १२ र १३ नम्बर वडामा रहेका टोल विकास संस्था तथा अन्य संघसंस्थाका पदाधिकारी एवम् सदस्यका लागि समुदाय स्तरीय कानुनी शिक्षा अनुशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।
हेटौंडा १२ र १३ नम्बर वडाका ६० जनाको सहभागिता रहेको कार्यक्रमलाई हेटौंडा उपमहानगरपालिकाका कानुनी अधिकृत अधिवक्ता सुजन तिमल्सिना, अप्सरा बस्नेत र अन्जिता थापाले सहजीकरण गरेका थिए । हेटौंडा उपमहानगरपालिकाका उपमेयर एवं न्यायिक समिति संयोजक राजेश बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर १३ का अध्यक्ष पेम्बा लामा, हेटौंडा उपमहानगरपालिका न्यायिक समिति सदस्य एवं नगर समन्वय समिति सल्लाहकार ज्ञानबहादुर थापा, टोल विकास संस्था नगर समन्वय समिति उपाध्यक्ष विष्णु ढुङ्गाना, मेलमिलाप केन्द्र संयोजक एवम् नगर समन्वय समिति सदस्य यदुवंश खतिवडा, नगर समन्वय समिति सदस्य रामबहादुर वाईबा, नगर समन्वय समिति सदस्य एवम् १३ नं वडा समन्वय समिति अध्यक्ष बालकुमार श्रेष्ठ लगायतको उपस्थिति थियो ।
कार्यक्रम टोविस नगर समन्वय समिति अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा उपमेयर बानियाँले न्यायिक समितिले गर्ने कामकारबाहीको विषयमा सर्वसाधारणलाई जानकारी दिन यस्ता कार्यक्रमले सहयोग पुग्ने धारणा राखे । टोल विकास समिति नगर समन्वय समिति अध्यक्ष अधिकारीले अरु वडामा पनि यस्ता कार्यक्रमलाई लगिने बताए ।

















