भीमफेदीमा दुई मोटरसाइकल र ल्याण्ड क्रुजर ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ धानगोदाममा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना सामान्य घाइते भएका छन्। मंगलबार दिउँसो करिब ४ः१५ बजे भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा हेटौंडाबाट काठमाडौं जाँदै गरेको बा १२ च ४१६४ नम्बरको ल्याण्ड क्रुजरले काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०२–०१८ प ०४५९ नम्बरको जाभा मोटरसाइकललाई ठक्कर दिएको थियो।

त्यसपछि सोही दिशाबाट आउँदै गरेको बा ५४ प २५६६ नम्बरको होण्डा मोटरसाइकल अनियन्त्रित भई सडकको बायाँतर्फको नालामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा जाभा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–५ सिद्धार्थपथका करिब २५ वर्षीय महेश्वर घिमिरे खत्री घाइते भएका थिए।

उनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। उनको शव हेटौंडा अस्पतालमै राखिएको छ।

होण्डा मोटरसाइकल चालक भारत घर भई हाल काठमाडौं महानगरपालिका–२८ माइतीघरमा डेरा गरी बस्ने करिब ३२ वर्षीय मुन्ना आलाम र मोटरसाइकलको पछाडि सवार सोही स्थानका ३१ वर्षीय चुन्नु आलम घाइते भएका छन्। उनीहरूको बायाँ हात र बायाँ खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको छ।

दुर्घटनामा संलग्न दुवै मोटरसाइकल र ल्याण्ड क्रुजर घटनास्थलमै रहेको तथा सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.